जापानमा ‘नयाँ युग’ आरम्भ, नारुहितो बने नयाँ सम्राट, २०० वर्षपछि स्वेच्छाले पद त्याग्ने पहिलो सम्राट आकिहितो

तर राज्यारोहणको औपचारिक र परम्परागत विधि बुधवार बिहान सम्पन्न भयो। सामान्य तर गहन साङ्केतिक अर्थ राख्ने सो विधिमा उनलाई जापानको शाही खजाना हस्तान्तरण गरिएको थियो। सम्राट बनेपछि नारुहितोले तरबार, जुहारात तथा ऐना पाएका छन्।

जापानका नयाँ सम्राट नारुहितोले बुधवार विधिपूर्वक राज्यारोहण गरेका छन्। उनका बुवा आकिहितोले राजगद्दी परित्याग गरेको दिनको मध्यरातपछि जापानी राजसंस्थाका उत्तराधिकारी नारुहितो औपचारिक रूपमा सम्राट बनेका हुन्।

तर राज्यारोहणको औपचारिक र परम्परागत विधि बुधवार बिहान सम्पन्न भयो। सामान्य तर गहन साङ्केतिक अर्थ राख्ने सो विधिमा उनलाई जापानको शाही खजाना हस्तान्तरण गरिएको थियो। सम्राट बनेपछि नारुहितोले तरबार, जुहारात तथा ऐना पाएका छन्।

नारुहितो नयाँ सम्राट बनेपछि ‘रेवा’ नाम दिइएको ‘नयाँ युग’ आरम्भ भएको छ। जापानी भाषामा रेवाको अर्थ सुव्यवस्था र सामन्जस्य हो।जापानमा सम्राट फेरिएपछि नयाँ युग सुरु गर्ने प्रचलन छ।

रेवा युग

जापानमा सम्राटसँग कुनै राजनीतिक अधिकार हुँदैन। तर उनी राष्ट्रिय प्रतीकका रूपमा चिनिन्छन्। उमेर र स्वास्थ्यका कारण देखाउँदै ८५ वर्षीय आकिहितोले पदत्याग गरेका थिए। उनीसँग मानार्थ सम्राटको उपाधि हुनेछ।

दुई सय वर्षपछि पहिलो पटक जापान सम्राटले स्वेच्छाले पदत्याग गरेका हुन्।

समारोहमा के भयो?

शाही निसान र छाप हस्तान्तरण गर्ने विशेष समारोह स्थानीय समयानुसार बिहान १०:१५ बजे सुरु भएको थियो। केन्जी-टो-शोके-नो-गी भनिने सो समारोहमा राजपरिवारका पुरुष सदस्य मात्रै उपस्थिति थिए। त्यसमा महिला सहभागी हुने चलन नभएकाले नयाँ साम्राज्ञी मासाको उपस्थित भइनन्।

उनन्साठी वर्षीय नारुहितोलाई एउटा तरबारको प्रति र एउटा बहुमूल्य रत्न दिइएको थियो। ती वस्तुलाई जापानी साम्राज्यको शक्तिको प्रतीक मानिन्छ र जापानको राजपरिवारमा पुस्तौँदेखि त्यसरी नै नयाँ सम्राटलाई दिइँदै आएको छ।

उनलाई हस्तान्तरण गरिएको शाही खजानामा एउटा ऐना पनि छ। त्यसलाई सबैभन्दा महत्त्वपूर्ण मानिन्छ र सधैँ एउटा मन्दिरमा राख्ने गरिएको छ।

हामीलाई नारुहितोबारे के थाहा छ?

नारुहितो जापानका १२६औँ सम्राट हुन्। उनले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका छन्। उनी २८ वर्षको उमेरमा राजसंस्थाको उत्तराधिकारी घोषित भएका थिए।

नारुहितो र मासाकोको विवाह सन् १९९३ मा भएको थियो

उनको विवाह सन् १९९३ मा मासाकोसँग भएको थियो। उनीहरूको भेट सन् १९८६ मा भएको बताइन्छ। मासाकोले पछि सञ्चारकर्मीहरूलाई युवराज नारुहितोले आफूसँग विवाह गर्न प्रस्ताव गरेको बताएकी थिइन्।

उनका अनुसार नारुहितोलाई उनले “तिमीलाई राजपरिवारमा आउन डर र सङ्कोच लागेको हुन सक्छ। तर म आजीवन तिम्रो रक्षा गर्नेछु” भनेकाले त्यो प्रस्ताव स्वीकारेकी थिइन्।