प्रदेश नं १ को मुख्यमन्त्रीमा राई नियुक्त

प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख तुम्बाहाङले राईलाई नियुक्तिपत्र प्रदान गरेका हुन् । उनले भोलि बिहीबार वीरेन्द्र सभागृहमा शपथ ग्रहण गर्ने र भोलि नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।

प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का शेरधन राई नियुक्त भएका छन् ।

प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले आज एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

एमाले र नेकपा (माओवादी केन्द्र)को समर्थनमा राईले मुख्यमन्त्रीमा नियुक्त गर्न सोमबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख तुम्बाहाङले राईलाई नियुक्तिपत्र प्रदान गरेका हुन् । उनले भोलि बिहीबार वीरेन्द्र सभागृहमा शपथ ग्रहण गर्ने र भोलि नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।

यस्तै प्रदेश नं २ को सभामुखमा राष्ट्रिय जनता पार्टी नेपालका सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेशसभाको पहिलो अधिवेशनअन्तर्गत आज भएको तेस्रो बैठकमा सो जानकारी दिइएको हो । निर्धारित समयभन्दा ४५ मिनेट ढिलो सुरू भएको बैठकमा अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य लगनलाल चौधरीले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ र नेपालको संविधानको धारा १८२ को उपधारा (३) उपदफा (२) बमोजिम प्रस्तावको सूचना एउटा मात्र प्राप्त भएको जनाउँदै यादवलाई निर्विरोध घोषणा गरेका थिए ।

प्रदेश ५ को सभामुखमा पनि निर्विरोध

यसैगरी प्रदेश नं ५ को सभामुखमा पनि पूर्णबहादुर घर्ती निर्विरोध निर्वाचित भएका छन् । प्रदेश नं ५ को आज बसेको बैठकले घर्तीलाई प्रदेशसभा सभामुखमा निर्विरोध निर्वाचित गरेको हो ।

सभामुख पदका लागि हिजो भएको उम्मेदवारी दर्तामा अरु कसैको उम्मेदवारी नपरेकाले संविधानको धारा १८२ को उपधारा २ अनुसार घर्ती सभामुखमा निर्विरोध चयन हुनुभएको सभाका ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले घोषणा गरेका थिए ।

रासस