प्रकाशमान सिंहको काटाक्ष–सरकारको नीति तथा कार्यक्रम मावि तहका विद्यार्थीलाई लेख्न लगाएको निबन्ध जस्तै

आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि आफ्नो धारणा व्यक्त गर्दै उनले माध्यमिक तहका विद्यार्थीलाई देश बनाउन के के गर्नुपर्छ भनेर निबन्ध लेख्न लगाए जस्तै सबै विषय समावेश गरिएको बताएका छन् ।

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रमलाई राम्रो निबन्धको सङ्ज्ञा दिएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि आफ्नो धारणा व्यक्त गर्दै उनले माध्यमिक तहका विद्यार्थीलाई देश बनाउन के के गर्नुपर्छ भनेर निबन्ध लेख्न लगाए जस्तै सबै विषय समावेश गरिएको बताएका छन् ।

नीति तथा कार्यक्रम नारै नाराले भरिएको कार्यक्रमजस्तो भएको आरोप लगाउँदै नेता सिंहले काठमाडौं उपत्यकाभित्रको धुलो हट्न नसकेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालत पनि राम्रो नभएको बताए । नीति तथा कार्यक्रममा समावेश गरिएका केही विषय सकारात्मक रहे पनि कार्यान्वयन भने मुस्किल रहेको उनले बताए ।

दोहोरो अङ्कको आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य सहजै पूरा नहुने भएकाले त्यसका लागि थप १७ खर्ब लगानी गर्नुपर्नेमा जोड दिँदै नेता सिंहले पूरा हुने मात्रै सपना देख्न सुझाब दिए ।