नेपालको ४१औं प्रधानमन्त्रीमा ओली नियुक्त

निर्वाचन आयोगले बुधबार मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेपालको ४१औं प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । एमाले र माओवादीले बिहीबार ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष समर्थनपत्र बुझाएका थिए ।

निर्वाचन आयोगले बुधबार मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो ।

नवनियुक्त प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सपथ लिने कार्यक्रम छ । शपथ ग्रहण समारोेह शीतल निवासमा हुनेछ ।

को हुन् ओली ?

२००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिए ओलीले डेढ वर्षको हुँदा आमा गुमाएका थिए । उनी ४/५ वर्षको हुँदा उनका पिता मोहनप्रसाद ओली बालबच्चा लिएर झापाको सुरुङ्गामा बसाइँ झरेको बताइन्छ । ओली ०२३ सालमा मार्क्सवादी अध्ययन दलको सदस्य बनेर कम्युनिस्ट राजनीतिमा होमिएका हुन् ।

पाटन निवासी राधिका शाक्यसँग अन्तरजातीय विवाह गरेका ओलीका सन्तान छैनन् । केपी ओली ०४४ पुस २ गतेबाट धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा (माले) को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा पुगे । ०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुख बनेका थिए उनी । ०४७ जेठ १ गते युवा संघको संस्थापक अध्यक्षका ओली ०४९ देखि एमालेको स्थायी कमिटी सदस्य निर्वाचित भए । ०४८ सालको आम निर्वाचनमा झापाबाट सांसद निर्वाचित भएका ओली ०५१ मा पुनः सोही क्षेत्रबाट निर्वाचित भए । एमालेको ९ महिने सरकारमा ओली नेपालको पहिलो कम्युनिस्ट सरकारको गृहमन्त्री बनेका थिए।

०५६ सालको आम निर्वाचनमा झापा २ र ६ बाट सांसद जितेका ओली ०६४ मा भने झापाकै सोही क्षेत्रमा माओवादीका सामान्य कार्यकर्ता विश्वदीप लिङदेनबाट पराजित भए । तर, ०७० को दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट पुनः भारी मतका साथ उनले जितेका थिए ।

ओलीले गृहमन्त्री र पराराष्ट्रमन्त्रीको जिम्मेवारी दुईपटक मात्र सम्हालिसकेका छन् । ०५१ मा गृहमन्त्री बनेका ओली २०६२/६३ को जनआन्दोलनलगत्तै बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री बने ।

यसअघि उग्र माओवादीका रुपमा चिनिएका केपी ओली अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गठबन्धनसहित अघि बढेका छन् ।