बायोमेट्रिकको विषयमा श्रम मन्त्रालयले भन्यो, ‘स्वास्थ्यसंस्था छनोट भइसकेको छैन’

नेपालस्थित मलेसियन दूतावासले स्वास्थ्य व्यवसायी महासङ्घलाई पत्र लेखेर ३७ ओटा स्वास्थ्य संस्था नै बायोमेट्रिकका लागि उपयुक्त रहेको पत्रसहित समाचार आएपछि मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर खण्डन गरेको हो ।

काठमाडौं । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण नयाँ मापदण्डअनुसार नयाँ स्वास्थ्य संस्थाहरुबाटै हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दाबी गरेको छ ।

नेपालस्थित मलेसियन दूतावासले स्वास्थ्य व्यवसायी महासङ्घलाई पत्र लेखेर ३७ ओटा स्वास्थ्य संस्था नै बायोमेट्रिकका लागि उपयुक्त रहेको पत्रसहित समाचार आएपछि मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर खण्डन गरेको हो ।

मन्त्रालयले मलेसियाको स्वास्थ्य परीक्षणसम्बन्धी मापदण्ड पूरा गर्न सक्ने स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य परीक्षणका लागि सूचीकृत हुन प्रस्ताव आह्वान गरेको बताउँदै सो प्रावधानअनुरुप सूचीकृत हुन चाहने स्वास्थ्य संस्थाहरुले मन्त्रालयमा आवेदन दिएका र तिनको हकमा प्राविधिक अनुगमन कार्य भइरहेको जनाएको छ ।

मन्त्रालयले मलेसिया सरकारसँग भएको सम्झौताबमोजिम स्वास्थ्य जाँच गर्ने संस्थाहरुको छनोट प्रक्रिया नटुङ्गिसकेको अवस्थामा कुनै निर्णय नआएको जानकारी दिएको छ ।