पार्टीको एकलौटी निर्णयमा प्रदेश राजधानी घोषणा गर्न मिल्दैनः पूर्वसभामुख घर्ती

प्रदेश राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पार्दै उनले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामकरणको टुङ्गो लगाउने बताइन् ।

रुपन्देही । पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश नम्बर ५ का अध्यक्ष ओनसरी घर्तीले पार्टीको एकलौटी निर्णयमा प्रदेशको राजधानी घोषणा नगर्ने बताएकी छन् ।

प्रदेश राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पार्दै उनले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामकरणको टुङ्गो लगाउने बताइन् ।

रिपोटर्स क्लब नेपाल प्रदेश नं ५ ले आइतबर बुटवलमा आयोजना गरेको साक्षात्कारमा घर्तिले प्रदेशसभाका सदस्यले जनताको राय लिएर मात्रै राजधानीको टुङ्गो लगाउने धारणा राखेकी थिइन् । मुलुक नयाँ संरचनाको अभ्यासमा रहेकाले प्रदेश राजधानीको टुङ्गो लाग्न समय लागेको उनको भनाइ थियो ।

अध्यक्ष घर्तीले नेपालको साधनस्रोतमा नेपाली जनतालाई मालिक बनाउने प्रयासस्वरुप सरकारले नीति कार्यक्रम सार्वजनिक गरेको बताइन् । उनले पार्टीभित्र कुनै समस्या नरहे पनि शान्ति र स्थायित्व नचाहनेले अनावश्यक हल्ला चलाउने गरेको तर्क गरिन् ।

सरकारले ल्याएको मिडिया विधेयकबारे पत्रकारले राखेको जिज्ञासामा उनले मिडियामाथि अङ्कुश लगाउने सरकारको नियत नभएको भन्दै पत्रकारले स्वतन्त्रपूर्वक काम गर्न पाउनुपर्ने भन्दै विधेयक त्रुटीपूर्ण भए सच्याएर जान सकिने बताइन् । रासस