डेढ महिनाभित्र सरकारले सबै अस्पतालमा श्रम अडिट गराउने

प्रत्येक वर्षको पुस मसान्तभित्र आफ्नो प्रतिष्ठानको सम्बन्धमा मन्त्रालयले तोकेको मापदण्ड बमोजिम प्रतिष्ठानको आफ्नै व्यवस्थापकीय तहको श्रमिक वा श्रम क्षेत्रसँग सम्बद्ध अन्य कुनै व्यक्ति वा संस्थामार्फत श्रम अडिट गराउनुपर्ने उल्लेख छ ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले डेढ महिनाभित्र सबै अस्पतालमा श्रम अडिट गराउने बताएका छन् । उनले अस्पतालका कर्मचारीहरुलाई न्यूनतम पारिश्रमिक नदिएको गुनासो बढिरहेको भन्दै सो समस्या समधानका लागि श्रम अडिट गराउने प्रतिबद्धता जनाएका हुन् ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोद्धन गर्दै मन्त्री विष्टले न्यूनतम पारिश्रमिक नदिने अस्पताल वा संस्थाहरुलाई कार्वाही गर्ने बताएका हुन् ।

श्रम नियमावली २०७५ को नियम ५६ मा मुलुकभर सञ्चालनमा रहेका प्रतिष्ठानहरूले श्रम अडिट गर्नु गराउनु पर्ने उल्लेख गरेको छ । सो नियमावलीमा प्रत्येक वर्षको पुस मसान्तभित्र आफ्नो प्रतिष्ठानको सम्बन्धमा मन्त्रालयले तोकेको मापदण्ड बमोजिम प्रतिष्ठानको आफ्नै व्यवस्थापकीय तहको श्रमिक वा श्रम क्षेत्रसँग सम्बद्ध अन्य कुनै व्यक्ति वा संस्थामार्फत श्रम अडिट गराउनुपर्ने उल्लेख छ ।

पछिल्लो समय नर्सिङ क्षेत्रमा काम लगाएर उचित पारिश्रमिक नदिने गरेको समचारहरु सार्वजनिक भइरहेको बेला मन्त्री विष्टले त्यस्ता संस्थाहरुलाई कार्वाही गर्ने चेतावनी दिएका हुन् । उनले पाइलट, डाक्टर, नर्सिङलगायत बौद्धिक क्षेत्रमा क्रियाशिलहरुको पनि न्यूनतम पारिश्रमिक तोक्न सरकारले तयारी गरिरहेको मन्त्री विष्टले जानकारी दिए ।

नर्सिङ क्षेत्रमा काम लगाएर तलब नदिने संस्थाहरुलाई तथ्यसहित श्रम मन्त्रालयमा उजुरी दिन मन्त्री विष्टले आग्रह गरेका छन् । उनले त्यस्ता अस्पताल, प्रतिष्ठान र क्लिनिकहरुलाई कार्वाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

नीजि क्षेत्रका श्रमिकलाई पेन्सनको व्यवस्था गर्न सामाजिक सुरक्षाको कार्यक्रम अगाडि सारिएको बताए । आउँदो साउन १ गतेबाट सामाजिक सुरक्षा कार्यक्रम कार्यन्वयनमा आउने बताउँदै निजी क्षेत्रमा काम गर्दा पनि बाचुञ्जेल पेन्सन आउने व्यवस्था गर्न लागेको उनको भनाई छ ।