गान्सु र नेपालबीच आर्थिक तथा व्यापारिक सहयोग सम्झौता

नेपाल र चीनको गान्सु प्रान्तबीच विगतदेखि नै भगिनी सम्बन्ध रहँदै आएको छ । नेपालको व्यापार विस्तार, पर्यटन प्रवर्द्धन, कृषि क्षेत्रको विस्तार, सूचना प्रविधि, भौतिक पूर्वाधार निर्माण सहयोगमा गान्सु प्रान्तसँग सहयोगको अपेक्षा गरिएको मुख्यमन्त्री पौडेलले बताए ।

काठमाडौं । प्रदेश ३ सरकार र चीनको गान्सु प्रान्त नेपाल आर्थिक तथा व्यापारिक सहयोग प्रवर्द्धन मेलामा दुई पक्षबीच सम्बन्ध गाँस्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गान्सु प्रान्तका गभर्नर ताङ रेन्जिएले संयुक्तरुपमा सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल र चीनको गान्सु प्रान्तबीच विगतदेखि नै भगिनी सम्बन्ध रहँदै आएको छ । नेपालको व्यापार विस्तार, पर्यटन प्रवर्द्धन, कृषि क्षेत्रको विस्तार, सूचना प्रविधि, भौतिक पूर्वाधार निर्माण सहयोगमा गान्सु प्रान्तसँग सहयोगको अपेक्षा गरिएको मुख्यमन्त्री पौडेलले बताए ।

गान्सु प्रान्तका गभर्नर ताङले पानी, पहाड र सगरमाथाको हिउँले नेपाल र चीनलाई जोडेको भन्दै प्रदेश ३ सँगको भगिनी सम्बन्धले दुई देशलाई थप नजिक बनाएको बताए । यसले दुई देशको सहयोग आदान प्रदानमा झनै महत्त्व राख्ने उनको भनाइ छ ।

यस्तै काठमाडौ महानगरपालिका र चीनको लान्झाउ सहरबीच पनि आर्थिक सहायता र व्यापार प्रवर्द्धन गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले नेपाल चीनबीच ऐतिहासिक सम्बन्ध रहेको भन्दै लगानी आदान प्रदानमा ध्यान दिनु पर्ने बताए ।

यसअघि काठमाडौ महानगरसँग र चीनका लान्झाउ, सियान, ल्हासा, सेन्जेन, छेन्दु सहरसँग भगिनी सम्बन्ध स्थापना भइसकेको छ । नेपालसँगको व्यापार सहजीकरणमा सघाउन गान्सुका प्रान्तपाल ताङ नेतृत्वको टोली ४ दिने नेपाल भ्रमणमा आएको हो ।