म्यानपावरविरुद्ध विभाग आक्रामक, दुई दिनमा पाँच ठाउँमा छापा

दुई पटक छापा हानेको बीएस ओभरसिजमा कुनै गल्ती नभेटेपछि विभागको टोली त्यत्तिकै फर्किएको छ । कम्पनीका सञ्चालक भीमबहादुर सापकोटाले मलेसियाको रोजगारी बन्द भएपछि कामदार पठाउन बन्द भएको र कलिङ भिसा आएका १३ जना कामदारलाई मात्र पठाएको जानकारी दिए ।

काठमाडौं । वैदेशिक रोजगार विभागले १२ दिनको अन्तरमा एकै कम्पनीमा दुई पटक छापा मारेको छ । मलेसियालगायत विभिन्न देशमा कामदार पठाउँदै आएको सामाखुसीस्थित बीएस ओभरसिज प्रालिमा मङ्गलबार छापा मारेको हो । विभागले वैशाख १९ गते पनि सोही म्यानपावरमा छापा मारेको थियो ।

म्यानपावर कम्पनीविरुद्ध पछिल्लो पटक आक्रामकरुपमा उत्रेको विभागले सोमबार पनि तीन म्यानपावरमा छापा मारेको थियो ।

दुई पटक छापा हानेको बीएस ओभरसिजमा कुनै गल्ती नभेटेपछि विभागको टोली त्यत्तिकै फर्किएको छ । कम्पनीका सञ्चालक भीमबहादुर सापकोटाले मलेसियाको रोजगारी बन्द भएपछि कामदार पठाउन बन्द भएको र कलिङ भिसा आएका १३ जना कामदारलाई मात्र पठाएको जानकारी दिए । उनले फ्री भिसा फ्री टिकटलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याएको समेत बताए ।

म्यानपावर कम्पनीमा विभागको टोलीले कागजपत्र हेर्दा सबै रसिदमा १० हजार लिएर कामदार पठाएको उल्लेख थियो ।

विभागले मलेसिया जाने कामदारको अध्यागमन सुरक्षा जाँच गर्ने जीएसजीमा पनि छापा मारेको छ । जीएसजी सर्भिस नेपालले आईएससी अर्थात् इमिग्रेसन सेक्युरिटी क्लियरेन्स गराउने भन्दै प्रत्येक कामदारबाट ३ हजार ३२ सय रुपैयाँ उठाइरहेको छ ।

विभागको टोलीले त्यहाँको तथ्याङ्क माग्दा मलेसियन राजदूतावासको अनुमतिबिना दिन मिल्दैन भन्दै एक दिनको समय माग गरेको छ । जीएसजी सर्भिस नेपाल कम्पनीका निर्देशक निशान पन्तले सबै डाटा मलेसियन दूतावासको नियन्त्रणमा रहने भन्दै तत्काल दिन नसकिने बताए । उनले कलिङ भिसा आएकाहरुलाई मात्र आईएससी गराइरहेको जानकारी दिए ।

विभागले सोमबार स्काई अफ दि वल्र्र्ड, ट्रस्ट नेपाल म्यानपावर र जुपिटर ओभरसिजमा छापा मारेको थियो । विभागले ती म्यानपावर कम्पनीबाट केही कागजात नियन्त्रणमा लिएर विभागमा उपस्थित हुन सञ्चालकलाई पत्र काटेको छ ।

मलेसियाको रोजगारी नखुल्दै खुलेको हल्ला चलाएर म्यानपावर कम्पनीहरु र विभिन्न संस्थाले कामदार छनोट गर्दै पैसा उठाउन लागेको भन्दै वैदेशिक रोजगार विभागले अनुगमनलाई तीव्र पारेको हो ।

विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले वैदेशिक रोजगारमा हुने ठगी रोक्नका लागि अनुगमनलाई तीव्रता दिएको बताए । उनले पछिल्लो समय विभिन्न कम्पनीले मलेसियाको रोजगार खुलेको भन्दै पासपोर्ट होल्डदेखि कामदारबाट पैसा उठाउन लागेको खवर सार्वजनिक भएपछि अनुगमनलाई तीव्रता दिइएको जानकारी दिए ।

सरकारले कामदारलाई आर्थिक भार पारेर ठगी गरेको भन्दै बायोमेट्रिक, भीएलएन, वान स्टेप सेन्टर, जीएसजी र माइग्राम्सलाई खारेजी गर्दै ती संस्थाका सञ्चालकलाई समेत कारबाहीको दायरामा ल्याएको थियो । तर, सरकारले खारेजीको घोषणा गरेको भीएलएन र जीएसजीले मलेसिया जाने कामदारका लागि पुरानै संयन्त्रमा काम गर्ने जनाएका छन् । अहिले जीएसजीले पनि आफ्नो प्रारम्भिक काम थालिसकेको छ ।