यसरी अस्तायाे लाेकप्रिय फाेन ‘नाेकिया’

२००७ को अन्त्यसम्म पनि विश्वमा बिक्री हुने स्मार्टफोनको सङ्ख्यामा आधा नोकिया फोनले नै ओगटेको थियो, जबकि एप्पल आईफोनले विश्व बजारमा पाँच प्रतिशत मात्र स्थान ओगटेको थियो ।

एजेन्सी । १९९८ को अक्टोबरमा विश्वकै सबैभन्दा बढी बिक्री भएको मोबाइल फोन ब्रान्ड बनेको थियो ‘नोकिया’ । नोकियाको सञ्चालन नाफा १९९५ मा एक अर्ब डलर थियो भने १९९९ सम्म पुग्दा त्यो चार अर्ब डलर पुगेको थियो । नोकियाको सफताको शृङ्खला यतिमै रोकिँदैन । नोकियाले आफ्नो उत्कृष्ट बिक्री भएको मोबाइल फोन नोकिया ११०० लाई सन् २००३ मा निर्माण गरेको थियो ।

तर, २००७ मा एप्पलले मोबाइल फोन जगतमा हरेक पक्षमा कोशेढुङ्गा मानिने अत्याधुनिक आईफोन ल्यायो । २००७ को अन्त्यसम्म पनि विश्वमा बिक्री हुने स्मार्टफोनको सङ्ख्यामा आधा नोकिया फोनले नै ओगटेको थियो, जबकि एप्पल आईफोनले विश्व बजारमा पाँच प्रतिशत मात्र स्थान ओगटेको थियो ।

२०१० मा नोकियाले ‘आईफोन किलर’ लन्च गर्यो, तर त्यो प्रतिस्पर्धामा असफल ठहरियो । यससँगै नोकियाको हाई इन्ड फोनको गुणस्तरता खस्किन थाल्यो । मात्र छ वर्षमा नोकियाको मार्केट भ्याल्यू ९० प्रतिशतले ओरालो लाग्यो । नोकिया २०११ सम्म निरन्तर ओरालो लाग्यो र २०१३ मा आएर यसलाई माइक्रोसफ्टले लियो ।

२०१३ मा आफ्ना सबै कुरा गुमाएर नोकिया विश्वको उत्कृष्ट मोबाइल बिक्रेता कम्पनीको सूचीबाट एकाएक बिलायो र आज पनि बिजनेस म्यानेजमेन्टका क्लासहरुमा केस स्टडीको विषय बनेर सीमित रहेको छ ।

नोकियाको बर्बादीका पछाडि अधिकांशले फेला पार्ने तीन कमजोरी भनेको एप्पलको प्रविधिको तुलनामा कमजोर हुनु, उच्च तहका व्यवस्थापकबीच अहङ्कार तथा भिजनको अभाव मुख्य हुन् ।

नयाँ प्रविधिमा वर्चस्व कायम गरेको नोकिया फोनको तीव्र बर्बादीको कारण बुझ्न आल्टो विश्वविद्यालयका स्ट्राटेजिक म्यानेजमेन्टका सहप्राध्यापक टिम ओ भुओरी र क्यू ह्यु सिंगापूर इन्सीडका स्ट्राटेजी विषयका प्राध्यापकले एउटा शोध गरी २०१५ मा एउटा पेपर प्रकाशन गरेका छन् । जसमा उनीहरुले नोकियाका ७६ जना शीर्ष र मध्य व्यवस्थापक, इन्जिनियर, एक्सटर्नल एक्सपर्टसँग अन्तरवार्ता र गहिरो अनुसन्धान गरेका छन् ।

ह्यु र भुओरीले प्रकाशित गरेको पेपरमा निम्न कुरा फेला परेका छन्ः

 – त्यस बेला नोकिया साङ्गठनिक त्रासबाट ग्रस्त थियो ।
 – साङ्गठनिक त्रास, आक्रोशित नेतृत्व र कमजोर मिडल व्यवस्थापक ।
 – कामबाट निकालिने डरका कारण मिडल म्यानेजरहरु वास्तविकता भन्न डराउँथे ।
 – शीर्ष म्यानेजरहरु पनि बाहिरी वातावरणबाट डराएका थिए र उनीहरुले पनि चौमासिक लक्ष्यलाई भेटाउन सकिरहेका थिएनन् ।
 – कार्यकारीहरु पनि नोकियाको ओपरेटिङ सिस्टम सिम्बियनको कमजोरीलाई सार्वजनिकरुपमा स्वीकार गर्न डराइरहेका थिए ।
 – उनीहरुलाई थाहा थियो एप्पलको आईओएससँग प्रतिस्पर्धा गर्ने अपरेटिङ सिस्टम विकास गर्न उनीहरुलाई धेरै वर्ष लाग्ने छ ।
 – एप्पलभन्दा उनीहरुको प्रविधि कमजोर भयो भने शीर्ष कार्यकारीहरु लगानीकर्ता, आपूर्तिकर्ता र ग्राहक गुम्नेमा त्रसित थिए ।
 – शीर्ष म्यानेजरहरुले मिडल म्यानेजरहरुलाई लक्ष्य हासिल गर्न महत्त्वाकाङ्क्षी नभएको आरोप लगाउँथे ।
 – मिडल म्यानेजरले पनि शीर्ष म्यानेजरहरुलाई ढाँट्ने काम गर्थे ।
 – एप्पलका टप म्यानेजरहरु सबै इन्जिनियर थिए भने नोकियाका टप म्यानेजहरुसँग प्राविधिक प्रतिस्पर्धात्मकता कमी थियो जसले उनीहरुको लक्ष्य निर्धारणमा प्रविधि सीमितताको पहुँचलाई प्रभाव पार्यो ।
 – नयाँ अपरेटिङ सिस्टम विकास गर्ने जस्ता दीर्घकालीन लक्ष्यमा संसाधन खर्च गर्नुको सट्टा नोकियाले बजारका ससाना मागलाई पूरा गर्न आफ्नो प्रयास नयाँ फोन निर्माणमा लगायो ।

नोकियामा देखिएको सामूहिक त्रासको वातावरणले कर्मचारीले एकअर्कासँग अन्तरक्रिया गर्ने वातावरणलाई प्रभावित पार्यो । मानवीय पक्षले आर्थिक र संरचनात्मक पक्षसँग जोडिँदा यसले ‘दूरदर्शिताको कमी’को अवस्था सृजना गर्यो जसले नोकियाको अन्वेषण गर्ने र नयाँ विकास गर्ने क्षमतामा नै ग्रहण लाग्यो ।