‘समान कामका लागि सामान व्यवहार’ विश्वव्यापीरुपमा स्थापित हुनुपर्छः मन्त्री विष्ट

मन्त्री विष्टले सबै गन्तव्य मुलुकले आफ्ना देशका नागरिकलाई प्रदान गरिएको सेवासुविधासरह विदेशी श्रमिकलाई पनि समान ढङ्गले प्रदान गर्ने वातावरण निर्माणका लागि विश्वव्यापीरूपमा वकालत गर्न आग्रह गरे ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ‘समान कामका लागि सामान व्यवहार’लाई विश्वव्यापीरूपमा स्थापित गराउन अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले भूमिका खेल्नुपर्ने बताएका छन् ।

आइएलओको शतवार्षिकी (१९१९–२०१९) को अवसर पारेर सोमबार राजधानीमा आयोजित ‘उज्ज्वल भविष्यका लागि काम’ विषयको कार्यक्रममा मन्त्री विष्टले सबै गन्तव्य मुलुकले आफ्ना देशका नागरिकलाई प्रदान गरिएको सेवासुविधासरह विदेशी श्रमिकलाई पनि समान ढङ्गले प्रदान गर्ने वातावरण निर्माणका लागि विश्वव्यापीरूपमा वकालत गर्न आग्रह गरे ।

नेपालमा काम गर्ने विदेशी श्रमिकलाई नेपालको कानूमबमोजिम नेपाली श्रमिकसरह सेवासुविधा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्दै उनले नेपाली नागरिक र विदेशी नागरिकमा कुनै विभेद नहुने प्रष्ट पारे । मन्त्री

नेपालको ठूलो युवा जमात वैदेशिक रोजगारीका नाममा विदेशी भूमिमा कार्यरत रहेको जानकारी गराउँदै उनले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सामाजिक सुरक्षाका विषयमा अभियान चाल्न आइएलओको ध्यानाकर्षण गराए । मन्त्री विष्टले नेपालको जनशक्तिलाई अन्तर्राष्ट्रिय श्रमबजारमा प्रतिस्पर्धी बनाउनु निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै नेपालको श्रमबजारको विश्लेषण र भावी दिनको प्रक्षेपण गरी १०÷२० वर्षपछिको अन्तर्राष्ट्रिय श्रमबजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्न अध्ययन गरेको बताए ।

शिक्षित बेरोजगारलाई रोजगारीसँग जोड्नु निकै चुनौतीपूर्ण रहेको उनको भनाइ थियो ।