प्रजातन्त्र दिवसका अवसरमा नेपाली सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै तहको संयुक्त प्रयासबाट न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने र आर्थिक विकासमार्फत सुखी नेपाल र समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ भएको प्रतिक्रिया दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपालको लक्ष्य टाढा नरहेको बताएका छन् । नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भसमेत भएको उनको भनाइ छ ।
जनतामा निहित सार्वभौमसत्ता, गणतन्त्र र सङ्घीयता, सामाजिक न्याय, समावेशी शासन प्रणाली र अग्रगामी परिवर्तनसहितको नेपालको संविधान नेपाली जनताको प्रतिनिधिबाट निर्माण भई कार्यान्वयनमा आइसकेको उनले बताए । तीनै तहको निर्वाचन सम्पन्न भई प्रत्येक तहका सरकार गठनको चरणमा नेपाल प्रवेश गरिसकेको उनको भनाइ छ ।
प्रजातन्त्र दिवसका अवसरमा नेपाली सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै तहको संयुक्त प्रयासबाट न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने र आर्थिक विकासमार्फत सुखी नेपाल र समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ भएको प्रतिक्रिया दिए ।
दशकौँदेखिको राज्यका केन्द्रीकृत संरचनालाई संघीयताको ढाँचामा ७ प्रदेश, ७५३ स्थानीय तहसहितको शासकीय पद्धतिमा ढाल्ने कार्य अगाडि बढेको चर्चा गर्दै उनले तीनै तहका सरकारले आ–आफ्ना अधिकारका सीमा र सम्बन्धमा रही समन्वयात्मक तवरबाट शासन सञ्चालन गर्ने नयाँ अध्यायको सुरु भइसकेको बताए ।
प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले जनतामा निहित सार्वभौमसत्ताको सम्मान, राष्ट्रिय एकता एवं हितको रक्षा, कानूनी शासनको सुदृढीकरण, सशासन, स्थिरता, विकास र समृद्धि अबको कार्यदिशा रहने बताए ।