विदेशमा मृत्यु भएका कामदारको परिवारलाई आर्थिक सहायता

विभिन्न कारणबाट गन्तव्य मुलुकमा मृत्युवरण गर्न पुगेका ६२५ कामदारका परिवारले बीमाबापत सात लाख रूपैयाँ आर्थिक सहायता प्राप्त गरेका छन् । सोही अवधिमा वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग भएका बिरामी भएका २४६ लाई पनि आर्थिक सहायता उपलब्ध गराइएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए ।

काठमाडौँ । सरकारले चालू आर्थिक वर्षको पहिलो १० महिनामा वैदेशिक रोजारीका क्रममा मृत्यु भएका ६२५ कामदारको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।

विभिन्न कारणबाट गन्तव्य मुलुकमा मृत्युवरण गर्न पुगेका ६२५ कामदारका परिवारले बीमाबापत सात लाख रूपैयाँ आर्थिक सहायता प्राप्त गरेका छन् । सोही अवधिमा वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग भएका बिरामी भएका २४६ लाई पनि आर्थिक सहायता उपलब्ध गराइएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए । अङ्गभङ्ग तथा बिरामी भएका कामदारले अङ्गभङ्गको प्रकृतिअनुसार सात लाख रूपैयाँको पाँच प्रतिशतदेखि १०० प्रतिशतसम्म प्राप्त गरेको बोर्डले जनाएको छ ।
साउनदेखि वैशाख मसान्तसम्म १९ कामदारका परिवारलाई औषधोपचार सहयोग प्रदान गरिएको छ । बोर्डले श्रम स्वीकृति लिएर गएका कामदारको परिवारका सदस्यलाई पाँच प्रकारका कडा रोग लागेमा उपचार खर्चबापत ५० हजार रूपैयाँ उलपब्ध गराउँदै आएको छ । कामदारको परिवारलाई स्वास्थ्य उपचार सहयोगसम्बन्धी मापदण्ड, २०७३ ले क्यान्सर, मिर्गौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अल्जाइमर रोगको उपचारका लागि आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था गरेको छ ।

सोही अवधिमा बोर्डले गन्तव्य मुलुकमा विभिन्न कारणबाट अलपत्र परेका ३९ नेपालीको उद्धार तथा मृत्यु भएका ६९ जनाको शव झिकाउन पत्राचार गरेको छ । ६५८ शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घर ठेगानासम्म ढुवानी गरिएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । वैदेशिक रोजगारीमा जान छनोट भएका एक हजार ३७ महिलाले अभिमुखीकरण तालीम लिँदा तिरेको रकम सोधभर्ना गरिएको छ ।

त्यसैगरी बोर्डले वैदेशिक रोजगारीका क्रममा अभिभावक गुमाएका सन्ततिको अध्ययनमा समस्या नआओस् भनेर मृतक कामदारको ५२३ बालबालिकालाई छात्रवृत्ति वितरण पनि गरेको छ । बार्डले मृतक कामदारको सन्ततिको शैक्षिक विकासका लागि सामुदायिक विद्यालयतर्फ पूर्वप्राथमिकदेखि १२ कक्षासम्म र संस्थागत विद्यालयतर्फ नर्सरी वा सोसरहदेखि कक्षा १२ सम्मका लागि छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । आधारभूत तहमा अध्ययन गर्ने बालबालिकालाई वार्षिक आठ हजार र माध्यमिक तहका लागि वार्षिक १२ हजार रूपैयाँ छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारले प्रतिव्यक्ति एक हजार ५०० देखि दुई हजार ५०० रूपैयाँसम्म कल्याणकारी कोषमा जम्मा गर्ने गरेका छन् । करारअवधि दुई वर्ष भएका कामदारले एक हजार ५०० र दुई वर्षभन्दा बढी भएका कामदारले प्रतिव्यक्ति दुई हजार ५०० रूपैयाँ कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । बोर्डले सोही कोषमा जम्मा भएको रकमबाट वैदेशिक रोजगारीका क्रममा मृत्यु, अङ्गभङ्ग, बिरामी भएमा आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै बोर्डले वैदेशिक रोजगारमूलक सीप तालीम सञ्चालनका लागि बालाजू स्कूल अफ इञ्जिनीयरिङ एण्ड टेक्नोलोजीसँग मेशिन, सटरिङ कारपेन्टर, प्लम्बर, इलेक्ट्रिसियन, स्टिल फिक्चर्सको तालीम सञ्चालन गर्ने सम्झौता गरेको छ । रासस