वैदेशिक रोजगार व्यवसायी सङ्घले गुहार्यो प्रधानमन्त्री

सङ्घका अध्यक्ष रोहन गुरुङले सकेसम्म वार्ता र संवादमार्फत नै समस्या समाधान गर्नेतर्फ आफूहरु लागिपरेका कारण प्रधानमन्त्रीलाई निवेदन दिएको जानकारी दिए । उनले अन्तिम विकल्पका रुपमा आन्दोलन रहेको बताउँदै त्यसअघि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिएर समस्या समाधान हुनेमा आफुहरु विश्वस्त रहेको बताए ।

काठमाडौं । वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समधानका लागि वैदेशिक रोजगार व्यवसायी सङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गुहारेको छ । आफूले राखेका मागमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गम्भीर नभएको भन्दै आन्दोलनको तयारी गरिरहेका बेला सङ्घले प्रधानमन्त्री ओलीलाई गुहारेको हो ।

सङ्घका अध्यक्ष रोहन गुरुङले सकेसम्म वार्ता र संवादमार्फत नै समस्या समाधान गर्नेतर्फ आफूहरु लागिपरेका कारण प्रधानमन्त्रीलाई निवेदन दिएको जानकारी दिए । उनले अन्तिम विकल्पका रुपमा आन्दोलन रहेको बताउँदै त्यसअघि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिएर समस्या समाधान हुनेमा आफुहरु विश्वस्त रहेको बताए ।

कामदार पठाउन रोक लगाइएको १ वर्ष भएको र मलेसियासँग श्रम सम्झदारी भएको ६ महिनाभन्दा बढी भइसक्दा पनि श्रम मन्त्रालयले रोजगारी खुला नगरेकाले तत्काल मन्त्रालयमा सूचीकृत मेडिकल सेन्टरबाट स्वास्थ्य परीक्षण गर्नेगरी कामदार पठाउने प्रक्रिया यथाशीघ्र सुरु गरिदिन आवश्यक निर्देशन दिन सङ्घले अनुरोध गरेको छ ।

यस्तै सङ्घले विद्यालय (शैक्षिक सस्था), बिमा कम्पनीले राखेका नगद धरौटीको ब्याज पाउने व्यवस्था हुँदा वैदेशिक रोजगार व्यवसायीले व्यवसाय गर्ने इजाजत लिन राख्ने धरौटीको पनि ब्याज पाउने व्यवस्था गरिनुपर्ने, मर्जर हुने संस्थालाई उपयुक्त छुट, सुविधा र सहुलियत दिनुपर्ने, विदेशस्थित दूतावासले गर्ने कामदार प्रमाणीकरण प्रक्रियालाई सहज बनाइदिनुपर्ने माग राख्दै आएको छ ।

सङ्घले नेपालले जस्तै कामदार आपूर्ति गर्ने भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलड्ढालगायत दक्षिण एसियाली मुलुकको अभ्यासअनुसार सेवा शुल्क तोकी यससम्बन्धी नीतिगत व्यवस्था गर्नुपर्ने लगायतका माग मन्त्रालयमा राखे पनि कुनै सुनुवाइ नभएको भन्दै प्रधानमन्त्री ओलीलाई गुहारेको हो ।

आफूहरुले राखेका माग सम्बोधन गर्न मन्त्रालयले कुनै चासो नदेखाएको भन्दै सङ्घले जेठ १७ देखि २३ गतेसम्म वैदेशिक रोजगारमा जाने श्रमिकको उडान बन्द गर्ने चेतावनी दिँदै आएको छ ।