मलेसियाका लागि नेपाली राजदूत पाण्डे र मानव संसाधनमन्त्री बीच भेटवार्ता, रोजगारी छिट्टै खुल्ने

बिहीबार मलेसियाको पुत्राजयमा भएको दुई पक्षीय भेटमा लामो समयदेखि बन्द रहेको रोजगारी खुलाउने विषयमा छलफल भएको दूतावास स्रोतले जनाएको छ । दुई पक्षीय भेटमा मलेसियाको रोजगार खुलाउन तयार रहेको भन्दै केही दिनभित्रै टुङ्गोमा पुगिने सहमति भएको स्रोतको दाबी छ ।

काठमाडौं । मलेसियाको रोजगारी बन्द भएको १ वर्ष भएको भन्दै सरकारको तीव्र आलोचना भइरहेका बेला नेपाली राजदूत उदयराज पाण्डे र मलेसियाका मानव संसाधनमन्त्री कुला शेराघनबीच भेटवार्ता भएको छ ।

बिहीबार मलेसियाको पुत्राजयमा भएको दुई पक्षीय भेटमा लामो समयदेखि बन्द रहेको रोजगारी खुलाउने विषयमा छलफल भएको दूतावास स्रोतले जनाएको छ । दुई पक्षीय भेटमा मलेसियाको रोजगार खुलाउन तयार रहेको भन्दै केही दिनभित्रै टुङ्गोमा पुगिने सहमति भएको स्रोतको दाबी छ ।

हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने नयाँ कामदार पठाउन मलेसियाले नै केही प्राविधिक विषय नमिलाएका कारण रोकिएको बताउँदै आएको छ । श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मेडिकलका विषयमा नेपालले अन्तिम तयारी गरिसकेको र मलेसियाबाट स्वीकृत वा अनुगमनमा आएलगत्तै खुल्ने जानकारी दिएका छन् । १५ दिनभित्र सूचीकृत भएका संस्थाहरुलाई अनुगमन गरी निर्णयमा पुग्ने बताउँदै आएको श्रम मन्त्रालयले हाल मलेसियाबाट प्रतिनिधि नआएका कारण समस्यामा परेको बताउँदै आएका छन् ।

हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसा आएकालाई मात्र मलेसिया पठाइरहेको छ । मन्त्रालयले नेपाली कामदारलाई आर्थिक भार पारेको भन्दै गत जेठ ३ गतेबाट विभिन्न पाँच ओटा संस्थालाई कारबाही गर्दै कामदार पठाउन रोक लगाएको थियो ।

कात्तिक ११ गते भएको दुई देशबीचको श्रम समझदारीमा ती संस्थाहरु यथावत रहने र कामदारबाट लिने पैसा रोजगारदाता कम्पनीले बेहोर्ने सहमति भएको थियो । र, मलेसियाले स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड पठाउने बताएको थियो ।

केही महिनाअघि मात्र मलेसियाले स्वास्थ्य परीक्षणका लागि मापदण्ड पठाएसँगै श्रम मन्त्रालयले सूचीकृतका लागि आह्वान गरेको थियो । तर, नेपालस्थित मलेसिया राजदूतावासले हाल रहेका ३७ ओटा मेडिकलमार्फत नै स्वास्थ्य परीक्षण गराउनु भन्ने पत्र पठाएको छ ।