राष्ट्रियसभा सदस्यमा तीन जना सिफारिस

मङ्गलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले अर्थशास्त्री डा युवराज खतिवडा, कानुनविद् रामनारायण बिडारी र अर्थविद् विमला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो ।

सरकारले राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको छ । मङ्गलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले अर्थशास्त्री डा युवराज खतिवडा, कानुनविद् रामनारायण बिडारी र अर्थविद् विमला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो ।

अब राष्ट्रपतिले नियुक्त गरेपछि उनीहरुले राष्ट्रियसभा सदस्यमा औपचारिकता पाउनेछन् । यसमध्ये बिडारी माओवादी केन्द्र, खतिवडा नेकपा एमाले र राई राष्ट्रपति भण्डारीको कोटामा परेकी हुन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस रद्द गरेर केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकाले नयाँ नाम सिफारिस गरेको हो ।

५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना हरेक प्रदेशबाट चुनिने र ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक व्यवस्था छ । हरेक प्रदेशबाट ८–८ जनाको दरले ५६ जना निर्वाचित भइसके पनि ३ जना भने नियुक्त गर्न बाँकी थियो ।

को–को हुन् खतिवडा, बिडारी र राई ?

राष्ट्रिय सभा सदस्यका लागि वर्तमान सरकारको सिफारिसमा परेका डा. खतिवडा राष्ट्र बैङ्कका पूर्व गभर्नर एवम् राष्ट्रिय योजना आयोगमा दुईपटकसम्म उपाध्यक्ष रहिसकेका एमाले निकट अर्थविद् हुन् ।

केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए । ओली सरकारमा अर्थमन्त्रालय सम्हाल्न लबिङ गरिरहेका उनलाई अर्थमन्त्रीको जिम्मेवारी दिने योजनासहित राष्ट्रिय सभामा लगिएको एमाले निकट नेताहरुको भनाइ छ ।

रामनारायण बिडारी प्रचण्ड निकट कानुन व्यवसायी हुन् । हेटौंडाका बिडारी दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट समानुपातिक सभासद् थिए ।

यसैगरी विमला पौडेल राई राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य हुन् ।