मोदीको जीतको वैश्विक अर्थतन्त्रका लागि के सन्देश ?

मोदी शक्तिमा फर्किने सङ्केत देखाएको एक्जिट पोलको परिणामपछि सोमबार सेयर बजार चार प्रतिशतले बढेको थियो । पर्दा पछाडि कम्पनीहरुले पनि व्यापार र पूर्वाधार निर्माणका कार्यलाई अवरोध पुर्याउने किसिमका ऐनहरुमाथि मोदीले नरम नीति अपनाएर लगानी र विस्तारमा सहयोगी भूमिका खेल्ने कुरामा विश्वस्त छन् ।

एजेन्सी । २०१४ को तुलनामा अति नै नाटकीय र अभूतपूर्व ढङ्गबाट भारतीय जनता पार्टी र उसको गठबन्धनले २०१९ को चुनावी परिणामलाई आफ्नो पक्षमा पारिसकेको अहिलेसम्मको नतिजाले देखाएको छ । २०१४ को आम चुनावमा २८२ सिट प्राप्त गरेको भाजपाले जारी मतगणनामा ३०३ सिटमा जीत र अग्रता लिएको छ ।

भाजपाले मध्यप्रदेशका २९ सिटमध्ये २८ सिट आफ्नो पक्षमा पारेको छ भने छत्तीसगढको पहिलो नराम्रो हारलाई पनि चुक्ता गरेको छ यसपटक । महाराष्ट्रमा उसको साझेदार शिव सेनाले पनि २०१४ कै गतिलो प्रदर्शनीलाई निरन्तरता दिन सफल भएको देखिएको छ । केही राज्यमा भाजपाले मार्जिनल हार पनि बेहोरेको छ, जुन उत्तर प्रदेशमा उल्लेखनीय छ । त्यहाँ उसको जनमत ७१ बाट ६२ मा झरेको छ । आन्ध्र प्रदेशमा भाजपाले दुई सिट गुमाएको छ भने तामिलनाडु र छत्तीसगढमा एक एक सिट गुमाएको छ ।

२०१४ को तुलनामा भाजपाले बिहार र झारखण्डजस्ता केही राज्यमा आफ्ना गठबन्धनका दललाई ठाउँ दिन कम सिटमा प्रतिस्पर्धा गरेको छ । तर, पश्चिम बङ्गाल, कर्नाटक र उडिसाजस्ता राज्यमा भाजपाले दर्ता गराएको ठूलो जीत ती मार्जिनल हारको अगाडि निकै गौण रहेको छ ।

भाजपाले जनताको मेन्डेट प्राप्त गरेका सङ्केत देखा पर्न थालेसँगै यसले भारतभित्रै तथा विश्वभरि नयाँ तरङ्ग उत्पन्न गराएको छ । नरेन्द्र मोदी र सिङ्गो भाजपाको जीतमा विजयी रैली र हर्षबढाइका समाचार भारतीय सञ्चार माध्यममा देखा पर्न थालेका छन् । यो निर्वाचन विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक निर्वाचन पनि बन्न सफल भयो, जसमा ९० करोड भारतीय मतदाताले मतदान गरेका थिए । जसले प्रधानमन्त्री मोदी र उनको दल भारतीय जनता पार्टीलाई दोस्रो कार्यकालका लागि ढोका उघारी दिएका छन् ।

मोदीको प्रचण्ड जीतसँगै देशको अर्थतन्त्रमा पनि तरङ्ग देखा परेका छन् । एक्जिट पोलको परिणामसँगै र बिहीबारबाट सुरु भएको मतगणनासँगै भारतको स्टक बजारले उच्च रेकर्ड दर्ता गराएको थियो । भारतको बेन्चमार्क इन्डेक्स सेन्सेक्स बिहीबार पहिलोपटक ४० हजार कटाउन ९०० पोइन्टले बढेको थियो । देशको अर्को ठूलो स्टक इन्डेक्स निफ्टीले पनि उच्च रेकर्ड दर्ता गराएको छ ।

यद्यपि हिजो बेलुकीको रेकर्डलाई हेर्ने हो भने विस्तारै त्यो कमजोर हुँदै गएको थियो । यस्तै भारतीय रुपैयाँ पनि बिहान बढेको थियो भने बेलुकी तल झरेको थियो । तर, विश्लेषकहरुले भने सुस्ताइरहेको वैश्विक अर्थतन्त्र, अमेरिका र चीनबीचको व्यापार विवाद नै विश्व अर्थतन्त्रलाई प्रभाव पार्ने कुरामा निर्णायक बन्ने र भारतमा अहिले देखिएको सेयर बजारको रैली छोटो समय बाँच्ने आकलन गर्छन् ।

तर विश्वको उल्लेखनीय जनसङ्ख्या र अर्थतन्त्रलाई समेट्ने भारतमा सम्पन्न भएको चुनाव र यसले दिएको मेन्डेट पनि वैश्विक अर्थतन्त्रमा केही हदसम्म निर्णायक हुने हुँदा अबको नेतृत्वले भारतलाई कतातिर लिएर जानेछ भन्ने कुरा पनि अहिले देशभित्र र विश्वमा तातो बहसको विषय बनेको छ ।

वाल स्ट्रिट जर्नलका दक्षिण एसियाली क्षेत्रका उपब्युरोप्रमुख एरिक बैलिमेन भन्छन्, ‘केही भारतीय र विदेशी लगानीकर्ताहरु आशावादी छन् । तर, केही भने यो चुनावको समयमा नरेन्द्र मोदीले लिएको राष्ट्रवादको मुद्दा हावी हुनसक्ने सम्भावना रहँदा उनी अर्थतन्त्रको मुद्दाबाट बहकिन सक्ने चिन्ता व्यक्त गरेका छन् ।’

विश्व अर्थतन्त्रका लागि मोदीको जीतको अर्थ के

अन्तर्राष्ट्रिय लगानीकर्ता र कम्पनी जो चाइना हिँडेको बाटो भारतले छोडोस् भन्ने प्रतिक्षा गरिरहेका छन्, यो निरन्तरताले वृद्धि विकास गर्छ भन्ने उनीहरुको अपेक्षा छ । मोदी शक्तिमा फर्किने सङ्केत देखाएको एक्जिट पोलको परिणामपछि सोमबार सेयर बजार चार प्रतिशतले बढेको थियो । पर्दा पछाडि कम्पनीहरुले पनि व्यापार र पूर्वाधार निर्माणका कार्यलाई अवरोध पुर्याउने किसिमका ऐनहरुमाथि मोदीले नरम नीति अपनाएर लगानी र विस्तारमा सहयोगी भूमिका खेल्ने कुरामा विश्वस्त छन् ।

भारतमा कस्तो प्रभाव

भारतको आन्तरिक प्रभावको कुरा गर्ने हो भने मोदी र भाजपाको जीत भारतीयहरुका लागि गौरवको कुरा देखिन्छ र ग्लोबल स्टेजमा भारतलाई मजबुत देशका रुपमा प्रस्तुत गरेको देखिन्छ । मोदीले राष्ट्रवादको मुद्दा घोल्दै भारतलाई विश्वको तीव्र विकास भइरहेको अर्थतन्त्रका रुपमा स्थापित गरें भनेर देखाइरहेका छन् । जब यो चुनाव हाइलाइटमा थियो, भारतका मध्यमवर्गीयहरु मोदीसित उभिएका थिए । आफ्नो खर्च क्षमतामा वृद्धि भएको र प्रविधिमा पहुँच बढेको कुरामा उनीहरु मख्ख थिए ।

मोदीका समर्थकले देशको अर्थतन्त्रलाई आधुनिकीकरण गर्न निरन्तर शक्तिमा रहून् भन्ने चाहन्छन् । अन्तर्राष्ट्रिय एरेनामा भारतको कुरा गर्ने हो भने मोदी चीनसँग प्रतिस्पर्धामा जान भारतको छविलाई उच्च स्थानमा पुर्याउन चाहन्छन् र एउटा स्थिर लोकतन्त्रको रुपमा भारतले पाउनु पर्ने सम्मान दिलाउन चाहेको बैलिमेन बताउँछन् ।

यी अनुमानित महत्त्वपूर्ण आर्थिक सुधारहरु सबै पूरा नहुन सक्छन्, तर यसबीच अपेक्षित साम्प्रदायिक दङ्गा निम्तिने देखिन्छ । त्यसले बजारलाई अवरोध पुर्याउने कुरा अलिक टाढा नै छ । ‘मोदीले पुनः निर्वाचित वा पार्टीको अर्को अवसरको सृजनाको सुनिश्चितताका लागि कुनै पनि दिशामा तरङ्ग पैदा गर्ने चाहना राख्ने छैनन्,’ बैलिमेन बताउँछन् ।