युवराजको ‘देउरालीको फूल’ सार्वजनिक

काठमाडौं – सिर्जनशील कवि युवराज अधिकारीको पहिलो गीतिसंग्रह (एल्बम) ‘देउरालीको फूल’ सार्वजनिक भएको छ । राजधानीमा हालै आयोजित एक कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालल उक्त एल्बम सार्वजनिक गरेका थिए ।

कार्यक्रममा नेता खनालले एल्बममा रहेका गीतहरुले आफ्नो मन छोएको बताए । उनले स्तरिय गीत संगीतको अभाव भइरहेको समयमा यस्तो गीत बजार भित्रिनु सुखद हुने धारण राखे । सुरेश अधिकारीको एकल संगीत रहेको एल्बममा दीप श्रेष्ठ, रामकृष्ण ढकाल र स्वरूपराज आचार्य, प्रमोद खरेल र मिना निरौलाले स्वर दिएका छन् ।

नेपालवायु सेवा निगमको जागिरे उनी बेलाबेलामा समय मिलाएर गीत, कविता, कथा लगायतमा कलम चलाउदै आएका छन् । एल्बम ‘देउरालीको फूल’का तीन गीतको भिडियो समेत निर्माण गरिएको छ । ति मध्य ‘आँशु आफैं’ बोलको गीतको म्युजिक भिडियो अत्याधिक लोकप्रिय बनेको छ ।
१६ वर्षको उमेरमै ‘मेरो चित्कार’ कविता संग्रह बाहिर ल्याएका अधिकारी अन्तराष्ट्रिय नेपाली साहित्य समाजको आजीवन सदस्य पनि हुन् । उनका कविता बेला बेलामा ‘मधुपर्क’मा पनि प्रकाशन हँुदै आएका छन् ।