छ सय किमी प्रतिघण्टा रफ्तारको रेल चीनमा

सरकारी चाइना रेलवे रोलिङ स्टक कर्पोरेसन सीआरआरसीले विकास गरेको उक्त रेलको सर्वाधिक परीक्षणपछि २०२१ मा कमर्सियल उत्पादन सुरु गर्ने योजना छ ।

एजेन्सी । निकट भविष्यमै छ सय किलोमिटर प्रतिघण्टा गति भएको बुलेट रेलको परिकल्पना साकार हुने अवस्थामा छ, छिमेकी मुलुक चीन ।

बिहीबार चीनको पूर्वी सहर क्वाङडाओमा देशको पछिल्लो उच्च गतिको मेग्नेटिक लेभिटेसन म्यागलेभ रेलको बडी प्रोटोटाइप अर्थात् नमुना रेल परीक्षण ट्रयाकमा सञ्चालन गरिएको छ ।

सरकारी चाइना रेलवे रोलिङ स्टक कर्पोरेसन सीआरआरसीले विकास गरेको उक्त रेलको सर्वाधिक परीक्षणपछि २०२१ मा कमर्सियल उत्पादन सुरु गर्ने योजना छ ।

सो परियोजनाप्रति चीन प्रशासन आशावादी छ, जसले चीनको सम्पूर्ण यातायात विकासको परिदृश्यलाई परिवर्तन गर्दै उच्च गतिको ट्रेल र हवाई साधनबीचको खाडललाई भर्ने काम गर्नेछ ।

सीआरआरसीका सहायक प्रमुख इन्जिनियर दिङ सानसानले बेइजिङदेखि साङ्घाई पुग्न प्लेनबाट साढे चार घण्टा, उच्च गतिको रेलबाट साढे पाँच घण्टा र पछिल्लो उच्च गतिको म्यागलेभबाट करिब साढे तीन घण्टा लाग्ने बताए । अहिलेको अवस्थामा बेइजिङ – साङ्घाई यात्राका लागि चलिरहेकोे रेलको गति साढे तीन सय किलोमिटर प्रतिघण्टा छ ।

म्यागलेभ रेलमा चुम्बकीय विकर्षणको प्रयोग गरिएको छ, जसले यसमा घर्षणलाई कम गर्छ ।

सहायक प्रमुख इन्जिनियर दिङका अनुसार करिब तीन वर्षको प्राविधिक अध्ययनपछि यो रेल तयार पारिएको हो ।

सीआरआरसीले हाल एउटा प्रयोगात्मक केन्द्र र उच्च गतिको म्यागलेभ परीक्षण उत्पादन केन्द्र निर्माण गर्दैछ, जसको सञ्चालन यस वर्षको अर्को अर्धवार्षिकीदेखि सुरु हुने अपेक्षा गरिएको छ ।

तर, चीनको यो नयाँ प्रोटोटाइप मात्र परीक्षण ट्रयाकमा छ सय किमी प्रतिघण्टाको गतिमा गुड्ने रेल होइन, यसअघि जापानको रेलवे म्यागलेभ रेलले पनि २०१५ मा परीक्षण ट्रयाक यामानासीमा ६०३ किमी प्रतिघण्टाको गति लिएको थियो ।