शाश्वतधाममा ल्याइयो श्रीलङ्काबाट बुद्धको अस्तु

बुद्धिष्ट सेन्टर स्थापना हुनुअघि भक्तजनहरूको दर्शनका लागि शाश्वतधाममा विशेष मण्डप तयार गरी अस्तु राखिएको छ ।

सनातन धर्मको प्रख्यात धार्मिक सम्पदा शास्वतधाममा श्रीलङ्काबाट भगवान् गौतम बुद्धको अस्तु ल्याइएको छ । उक्त अस्तु शाश्वतधाममा निर्माण गर्न लागिएको बुद्धिष्ट सेन्टरमा राखिने छ ।

बुद्धिष्ट सेन्टर स्थापना हुनुअघि भक्तजनहरूको दर्शनका लागि शाश्वतधाममा विशेष मण्डप तयार गरी अस्तु राखिएको छ । अस्तु दर्शनका लागि अहिले बौद्ध र हिन्दु धर्मावलम्बीहरुको भीड लागेको छ । धाममा राखिएको अस्तुलाई श्रीलङ्काबाट आएका भिक्षुहरुको टोलीले विधिपूर्वक दैनिक पुजाअर्चना गरिरहेका छन् ।

श्रीलङ्काको राजधानी कोलम्बो नजिकैको २६ सय वर्ष पुरानो राजमाया बिहारबाट उक्त अस्तु नेपालको शाश्वतधाम ल्याइएको हो । विश्वभरका बौद्ध धर्मावलम्बीहरूका बीच उक्तविहार निकै प्रतिष्ठित मानिन्छ ।
बौद्ध भिक्षु खेम्पो पेमा सम्बा लामाले भगवान् बुद्धको अस्तुलाई प्राणीको उद्धार गर्नका लागि साक्षात् भगवान् मानिने भएकाले बुद्ध धर्ममा यसको सबैभन्दा उच्चमहत्त्व रहेको बताए । राजामाया बिहारका जनका ईडिरेसङघेले भगवान् बुद्धका अनुयायीहरुले अस्तु (बुद्धको खरानी)रहेको स्थानलाई साक्षात् भगवान् बुद्धको स्वरुपका रुपमा श्रद्धा गर्ने बताए ।

मङ्गलबार शाश्वतधाम परिसरमा बुद्धिष्ट सेन्टरको शिलान्यास गरिएको छ । श्रीलङ्का, लुम्बिनीस्थित श्रीलङ्का गुम्बा र दाउन्नेमा रहेको बौद्ध गुम्बाका भिक्षुहरुबाट विधिपूर्वक बुद्धिष्ट सेन्टरको शिलान्यास गरिएको हो । आगामी बैशाख पूर्णिमाका दिन उक्त सेन्टरको उद्घाटन गर्ने लक्ष्य राखिएको छ । बुद्धिष्ट सेन्टर सञ्चालनमा आएपछि भक्तजनहरूले सोही स्थानमा अस्तुको दर्शन गर्न पाउनेछन् ।

पुरातत्व विभागका पुरातत्वविज्ञ रामबहादुर कुंवरका अनुसार आजभन्दा २५६२ वर्षअघि देह त्याग गरेका भगवान् गौतम बुद्धलाई उनका अनुयायीहरु (भिक्षु)ले जलाएका थिए । उनलाई जलाइएपछि बनेको खरानी आ–आफनो चैत्यमा राख्न उनीहरूबीच होडबाजी चलेको थियो ।

बौद्ध धर्मविज्ञहरूका अनुसार त्यतिबेलाका शासकमध्ये मगधका मौर्य, बैशालीका लिक्ष्छवी, कपिलवस्तुका शाक्य, रामग्रामको कोलीया(हालनवलपरासी सदरमुकामवाट ५ किलोमिटर दक्षिण) कुशिनगरका मल्ल, पावाका मल्ल, बेथडिपका ब्राम्हीन र अलपप्पाका बुलिजहरुले अस्तु भाग लगाएर बा“डेका थिए । ती आठओटै स्थानमा निर्माण गरिएका भव्य चैत्यहरू अहिले पनि उत्तिकै प्रख्यात छन् ।

तत्कालीन सम्राट अशोकले ती आठ पवित्र स्थल (तत्कालीन चैत्य मन्दिर)मा रहेको अस्तुलाई उत्खनन गरी आप्mना ८४ हजार भिक्षुहरुलाई वितरण गरेको भनाइ छ । त्यति बेला वितरित अस्तुलाई संसारका ८४ हजारभन्दा बढी स्थलका चैत्यहरूमा राखिएको विज्ञहरू बताउँछन् ।

सनातन धर्मको प्रवर्धनका लागि गत वर्ष उद्घाटन गरिएको शाश्वतधाम एक वर्षको अवधिमै नेपाल र बाहिरका भक्तजनहरूका लागि प्रख्यात धार्मिकस्थलका रुपमा स्थापित भएको छ । ११ महिनाको अवधिमा १२ लाख दर्शनार्थीले शाश्वतधामको दर्शन गरेका छन् ।