कतार भिसा सेन्टर सञ्चालनमा, संघका महासचिव गेलालद्धारा राजिनामा

कतार भिसा सेन्टर सञ्चालन आउन लागेपछि बैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले राजिनामाको घोषणा गरेका छन् ।

काठमाडौं । कतार सरकारले नेपालमा खोल्न लागेको कतार भिसा सेन्टरको बुधबारबाट सञ्चालनमा आउने भएको छ । लामो समयदेखि श्रम मन्त्रालयले सिन्डिकेट शैलीमा स्थापना भएको भनेर अनुमती नदिएको भिसा सेन्टरको विषयमा कुटनीतिक पहल भएपछि सञ्चालन आउन लागेको हो ।

कतारले ८ मुलुकमा २० ओटा भिसा सेन्टर स्थापना गरेर एकद्धार प्रणाली लागू गरेको जनाएको छ । नेपालमा भिसा सेन्टर स्थापना नभए भविष्यमा घुमघाम र कामका लागि कतार जाने नेपालीलाई समस्या हुने चेतावनी कतारले दिँदै आएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारहरुसँग भिसा र स्वास्थ्य परिक्षणमा सिन्डीकेट भएको भन्दै एक बर्षदेखि मलेसियाको रोजगारी बन्द गराएर विभिन्न संस्थालाई कारवाही गरेका थिए ।

कतार भिसा सेन्टर पनि सिन्डिकेट शैलीमा आएको भन्दै सुरुदेखि नै सञ्चालनको अनुमती नदिएका मन्त्री विष्ट पछिल्लो पटक लचिलो भएपछि कतार भिसा सेन्टर सञ्चालनमा आउन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयले कतार भिसा सेन्टरलाई सञ्चालनमा अवरोध नगर्ने भनेपछि श्रम मन्त्रालय यसमा लचिलो देखिएको श्रम मन्त्रालयका एक सहसचिवले बताए ।

कतारसँग श्रम सम्झौता पुनरावलोकनको प्रक्रिया चलिरहेको र शून्य लागतमा कामदार पठाउने विषयमा सम्झौता गर्न खोजिरहेको श्रम मन्त्रालय कतार भिसा सेन्टरको विषय पनि श्रम सम्झौतामा नै उल्लेख हुनुपर्ने अडान लिएको थियो ।

कतार भिसा सेन्टरमा हुने कामदारको खर्च कामदारले तिर्नुनपर्ने भिसा सेन्टरले जनाएको छ । भिसा सेन्टरका सञ्चालक हेम गुरुङले कामदारलाई कुनै आर्थिक भार नपर्ने गरि काम हुने भएपछि सरकारले सञ्चालनको अनुमती दिएको बताए ।

कतार भिसा सेन्टर सञ्चालन आउन लागेपछि बैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले राजिनामाको घोषणा गरेका छन् । ‘हामी व्यवसायीले सुरुदेखि नै सिन्डीकेटको विरोध गर्दै आइरहेका थियौँ तर, कतार भिसा सेन्टरले सिन्डीकेट शैलीमा काम सुरु गर्न लागेकाले संघले यसमा कुनै भूमिका निर्वाह नगरेकाले पदमा बस्न उचित लागेन,’ उनले क्यापिटल नेपालसँग भने । अहिले अध्यक्षज्यू पोखरा हुनुहुन्छ, काठमाडौं आउने वित्तिकै राजिनामा पत्र बुझाउने उनले बताए ।

कतार भिसा सेन्टर दक्षिण एसियामा श्रीलंका, बंगलादेश, पाकिस्तान, भारतमा दुईदुई ओटा भिसा सेन्टर स्थापना भैसकेको छ । भिसा सेन्टरमार्फत रोजगारीको अवसरबारे सूचना दिने, प्रवेशाज्ञा एंव श्रमपत्र जारी गर्ने, श्रमिक र रोजगारदाताबीचको अन्तिम सम्झौता गराउने र कामदारको स्वास्थ्य परिक्षण गर्ने सेवा उपलब्ध हुने भिसा सेन्टरले जनाएको छ ।

त्यस्तै नेपाली भाषामा नै सबै सेवाहरु उपलब्ध हुने भएकाले कामदारलाई सहज हुने पनि बताइएको छ । भिसा सेन्टर स्थापना भएपछि कामदारको लागत न्यून हुने र बिचौलियाहरु हट्ने पनि सेन्टरको दाबी छ ।