कतारले सुरु गर्यो नेपालमा भिसा सेन्टर, कामदारको सम्पूर्ण काम नेपालमै

कतार प्रशासनले प्राथमिक भिसा अप्रुभल जारी गरेपछि आवेदकले सम्झौतालाई डिजिटल प्रविधिबाट पूरा गर्न सक्नुका साथै बायोमेट्रिक्स विवरण र आवश्यक मेडिकल परीक्षण एउटै छातामुनि पूरा गर्न सक्नेछन् । यसले आवेदनको समय बचत गर्नुका साथै प्रक्रियालाई कतारमा पूरा हुने प्रतिक्षा नगरी सम्बन्धित देशमै प्रक्रिया पूरा गर्नसक्छ ।

काठमाडौं । कतार सरकारले नेपालमा पहिलो पटक कतार भिसा सेन्टर स्थापना गरेको छ । कतारका सम्बन्धित निकायहरुको प्रत्यक्ष निरीक्षणमा सञ्चालन हुने उक्त भिसा सेन्टरले श्रमिकहरुको स्वास्थ परीक्षण र आवश्यक बायोमेट्रिक परीक्षणका कामहरु सम्पादन छोटो समयभित्र पूरा गर्ने जनाइएको छ ।

कतारको आन्तरिक मन्त्रालयबाट सम्बन्धन प्राप्त उक्त भिसा सेन्टरलाई नेपालका लागि कतारका राजदूत युसुफ बीन मोहम्मद अल हेलले बुधबार उद्घाटन गरे । सो उद्घाटन समारोहमा मेजर जनरल अब्दुल्लाह सलिम अल अली र मेजर अब्दुल्लाह खलिफा अल मोहम्मदलगायतको उपस्थिती थियो ।

राजदुत युसुफले नेपालमा कतारको भिसा सेन्टर स्थापना भएपछि नेपालबाट कतार जाने कामदारलाई अतुलनिय फाइदा र उपलब्धी भएको बताए । ‘यसले कामदारका लागि सहज, सुलभ र सरल तरिकाले प्रक्रिया हुन्छ,’ उनले भने ।

कतार प्रशासनले प्राथमिक भिसा अप्रुभल जारी गरेपछि आवेदकले सम्झौतालाई डिजिटल प्रविधिबाट पूरा गर्न सक्नुका साथै बायोमेट्रिक्स विवरण र आवश्यक मेडिकल परीक्षण एउटै छातामुनि पूरा गर्न सक्नेछन् । यसले आवेदनको समय बचत गर्नुका साथै प्रक्रियालाई कतारमा पूरा हुने प्रतिक्षा नगरी सम्बन्धित देशमै प्रक्रिया पूरा गर्नसक्छ ।

कतारको पुरानो भिसा प्रक्रियामा मेडिकल परीक्षण इजाजतप्राप्त प्रयोगशालामा गर्नु पर्दथ्यो जसले करिब एक हप्ता समय लिने गथ्र्यो । यो भिसा सेन्टरले श्रम सम्झौतामा हस्ताक्षर र मेडिकल परीक्षणलाई कतार भिजा सेन्टरमै पूरा गर्नु पर्ने श्रमिकका लागि नियम बनाएको छ ।

कतारी अधिकारीहरुका अनुसार यो भिसा सेन्टरले अन्तराष्ट्रिय मापदण्डसँग मिल्नेगरी आप्रवासनलाई थप व्यवस्थित पनि बनाउने बताएका छन् । यो भिसा सेन्टरले भिसा आवेदकहरुका लागि पारदर्शीता, ट्रेसयोग्य र सुधारिएका उपायहरुसहित स्क्युरिटी स्क्रिनिङ मेकानिजमको प्रत्याभूति गरेको छ । यो भिसा सेन्टर प्रत्येक हप्ताको आइतबारदेखि बिहीबारसम्म बिहान साढे आठ बजेदेखि बेलुकी साढे चारसम्म सञ्चालन हुने सेन्टरले जनाएको छ ।

सम्पूर्ण काम नेपालबाटै हुने भएपछि नेपाली कामदारहरुले कतार पुग्नसाथ आफ्नो परिचयपत्र पाउनसक्ने छन् । कतारले नेपालबाहेक भिसा सहजीकरणका लागि बंगलादेश, पाकिस्तान र श्रीलंका जस्ता मुलुकहरुमा यस्ता सेन्टरहरु सञ्चालन गर्दै आइरहेको छ । मेडिकल, बिमा र अन्य व्याक्तिगत कागजातहरु राम्रोसँग स्कियानिङ गरिने भएको कारण मेडिकल फेल वा अन्य विभिन्न समसया भएका व्याक्तिहरु नेपालबाट नै कतार जान पाउने र नपाउने विषयमा टुंगो लाग्ने हुँदा कतार पुगेर फर्किनु पर्ने अवस्था पनि सेन्टरका कारणले हटेर जाने भिसा सेन्टरका प्रमुख मेजर अब्दुल्लाह खलीफा अल मोहम्मदले बताए ।

कतारको सरकारी प्रकृया अनुसार भिसा सेन्टर सञ्चालन हुने हुँदा सेवाग्राहीलाई भविष्यमा कुनै पनि समस्या नआउने नेपालस्थित कतारी दूतावासले बताएको छ । काठमाडौंको महाराजगञ्जमा कार्यालय रहेको भिसा सेन्टरभित्र सम्पूर्ण प्रक्रिया नेपाली भाषामा नै हुने सेन्टरले जनाएको छ ।