महिला अधिकारमा विकसित देशभन्दा अघि छौं : प्रधानमन्त्री ओली

महिला अधिकारको क्षेत्रमा विकसित देशभन्दा नेपालले राम्रो गरेको उनको दाबी छ । नेपालमा अवसर पाएको ठाउँमा महिलाले क्षमता देखाएका छन् । दूरदराजमा हरेका महिला अझै पनि पीडित रहेकाले उनीहरुलाई शिक्षा र सचेतनाको माध्यमबाट ज्ञान दिनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड छ ।

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले महिला अधिकार र सार्वजनिक क्षेत्रमा सहभागितामा नेपाल विश्वका विकसित देशभन्दा पनि अगाडि रहेको बताएका छन् । पहिलो राष्ट्रिय महिला अधिकार दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले महिला अधिकारको विषय कार्यान्वयनमा केही समस्या भए पनि सुधार गर्दै लैजाने प्रतिबद्धता जनाए ।

महिला अधिकारको क्षेत्रमा विकसित देशभन्दा नेपालले राम्रो गरेको उनको दाबी छ । नेपालमा अवसर पाएको ठाउँमा महिलाले क्षमता देखाएका छन् । दूरदराजमा हरेका महिला अझै पनि पीडित रहेकाले उनीहरुलाई शिक्षा र सचेतनाको माध्यमबाट ज्ञान दिनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड छ ।

महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने र महिलाको उत्थानबिना समाजको विकास सम्भव नहुने उनको धारणा छ । घरघरमा भएका महिला हिंसाका घटनालाई अन्त्य गर्न देशव्यापी सचेतनामूलक कार्यक्रम लागू गर्ने कुरामा आफू विश्वस्त रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

२०६३ जेठ १६ गते प्रतिनिधिसभाबाट ३३ प्रतिशत महिला सहभागिता, आमा वा बुबाको नामबाट नागरिकता, महिला विरोधी कानुन खारेजलगायत विषय समेटेर तत्कालीन सांसद विद्यादेवी भण्डारीले पेस गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित भएको थियो ।

त्यसै दिनको सम्झनामा यस वर्षदेखि राष्ट्रिय महिला अधिकार दिवस मनाउन थालिएको हो । प्रधानमन्त्री ओलीले उक्त प्रस्ताव पेस गर्ने हालका राष्ट्रपति भण्डारीलाई धन्यवाद दिँदै सबैलाई दीपावली गर्न आग्रह गरे ।