प्रभावकारी बन्दै वैदेशिक रोजगारीसम्बन्धी ‘शुभकामना एप्लिकेसन’

एप्स प्रभावकारी बनाउन वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी कार्यालयका सम्बन्धित एप्समा पनि जोड्नुपर्ने आज आयोजित शुभकामना एप्ससम्बन्धी छलफल कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले सुझाव दिए ।

काठमाडौँ । वैदेशिक रोजगारीमा आधारित एप्लिकेसन ‘शुभकामना एप्स’ प्रभावकारी बन्दै गएको छ ।

एप्स प्रभावकारी बनाउन वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी कार्यालयका सम्बन्धित एप्समा पनि जोड्नुपर्ने आज आयोजित शुभकामना एप्ससम्बन्धी छलफल कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले सुझाव दिए ।

“एप्लिकेसनमा समयसापेक्ष नयाँनयाँ जानकारी थप्दै जानुपर्छ”, उनले भने । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा हाल सञ्चालनमा आएको कल सेन्टरसँग सो एप्लिकेशनलाई जोड्न गृहकार्य थाल्नुपर्ने उनले बताए ।

सो अवसरमा प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले शुभकामना एप्लिकेशनलाई बढीभन्दा बढी प्रयोगमा ल्याउन गृहकार्य भइरहेको बताए । “छोटो समयमा नै एपले राम्रो प्रतिक्रिया पाएको छ”, कार्कीले भने ।

एप्समार्फत वैदेशिक रोजगारीमा गएका परिवारका महिलालाई आर्थिक साक्षरताबारे जानकारी दिन ललितपुर, धादिङ, रसुवा र नुवाकोटका महिलालाई अभिमुखीकरण गरिएको आप्रवासी महिला कामदार समूह (आमकाष्ट) की अध्यक्ष विजया राईले जानकारी दिइन् । बीस वर्ष साउदी अरबमा काम गरी फर्केका अञ्जन श्रेष्ठले एप्स प्रभावकारी बनाउन प्रयोगकर्ताको सहजतामा ध्यान दिनुपर्ने बताए । छलफल कार्यक्रममा विभिन्न निजी क्षेत्रको अनुदानमा चलेका एप्सलाई आत्मनिर्भर बनाउनुपर्नेमा सहभागीले जोड दिए ।

सो एप्स आमकाष्ट र पीएनसीसीको अनुदानमा सञ्चालन भइरहेको छ । हाल एन्ड्रोइड मोबाइलमा उपलब्ध एप्स ६० हजारभन्दा बढीले डाउनलोड गरेका छन् । सीमान्तकृत समुदायमा वैदेशिक रोजगार साक्षरता अभिवृद्धि गर्न मैथिली र तामाङ भाषाका सामग्री पनि एप्समा समावेश गरिएको छ ।

एप्लिकेसनमा वैदेशिक रोजगारमा जानुपूर्व केकस्ता कुरामा ध्यान दिनुपर्छ, गन्तव्य मुलुकको भाषा र त्यहाँको संस्कृति कस्तो छ, गन्तव्य मुलुकका कामदारले मानसिक तनाव कम गर्न के गर्नुपर्छ र वैदेशिक रोजगारबाट स्वदेशमा फर्किएपछि केकस्ता व्यवसाय गर्दा राम्रो हुन्छ भन्ने जानकारी समावेश गरिएको छ ।

त्यसैगरी वैदेशिक रोजगारीबाट स्वदेश फर्किएर आफ्नै देशमा व्यवसाय सञ्चालन गरेका व्यक्तिको सफलताको कथालाई पनि समावेश गरिएको छ । रासस