अमेरिकी स्टुडेन्ट भिसामा कडाइ, सामाजिक सञ्जाल, इमेल र फोन नम्बरको विवरण पनि बुझाउनु पर्ने

यसअघि सामाजिक सञ्जालको विवरण पेश गर्नु नपर्ने व्यवस्थालाई परिमार्जन गर्दै अब भिसा आवेदकले सामाजिक सञ्जालका आफ्ना गतिविधिहरुको पनि विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने व्यवस्था ल्याएको हो ।

एजेन्सी । अमेरिकाले आफ्नो देश आउन चाहनेहरुका लागि भिसामा थप कडाइ गरेको छ । अमेरिकाको स्टेट डिपार्टमेन्टले भिसा  आवेदकका लागि थप कडाइ गर्दै सामाजिक सञ्जालका गतिविधिहरुसमेत पेश गर्नुपर्ने नयाँ नियम बनाएको छ ।

यसअघि सामाजिक सञ्जालको विवरण पेश गर्नु नपर्ने व्यवस्थालाई परिमार्जन गर्दै अब भिसा आवेदकले सामाजिक सञ्जालका आफ्ना गतिविधिहरुको पनि विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने व्यवस्था ल्याएको हो । साथै सामाजिक सञ्जालको नामसँगै पाँच वर्षदेखि प्रयोग गरिरहेको इमेल ठेगाना र फोन नम्बरको विवरणसमेत बुझाउनुपर्ने व्यवस्था बनाइएको स्टेट विभागका अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले सन् २०१८ को मार्चमा यससम्बन्धी प्रस्ताव गरेको थियो । यो प्रस्तावको ब्यापक आलोचना भएपनि प्रस्तावको केही समयपछि यो व्यवस्था कार्यान्वयनमा नै ल्याएको हो । यो ब्यवस्था कार्यान्वयन भएसँगै अमेरिकको लागि भिसा आवेदन झन्झटिलो हुने छ ।

यद्यपी केही निश्चित कूटनीतिज्ञ र औपचारिक भिसाका आवेदकको हकमा भने यो नियम लागू नहुने र उनीहरुले सामाजिक सञ्जालको विवरणविना नै भिसा प्राप्त गर्न सक्नेछन् ।

जानकारहरुका अनुसार यो व्यवस्थाले करिब १ करोड ४७ लाख मानिसहरु प्रभावित हुने अनुमान पछ । खासगरी काम र अध्ययनका लागि अमेरिका जान चाहनेका लागि सामाजिक सञ्जाल, फोन नम्बर र इमेल ठेगानाको विवरण अनिवार्य रुपमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।