म्यानपावर व्यवसायीको आन्दोलनका कारण त्रिभुवन विमानस्थल खाली

सङ्घले मलेसियाको रोजगारी तत्काल खुलाउनु पर्ने, म्यानपावर कम्पनीको धरौटी रकमबाट ब्याज पाउनुपर्नेलगायतका माग राख्दै आन्दोलनमा उत्रिएपछि त्यसको प्रभाव एयरलाइन्स कम्पनीहरुमा परेको छ ।

काठमाडौं । एक सातासम्म कामदार विदेश नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्णयका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खाली जस्तै भएको छ । रोजगारीका लागि विभिन्न मुलुक जाने कामदारका कारण खचाखच हुने विमानस्थल अहिले सुनसान भएको हो ।

सङ्घले मलेसियाको रोजगारी तत्काल खुलाउनु पर्ने, म्यानपावर कम्पनीको धरौटी रकमबाट ब्याज पाउनुपर्नेलगायतका माग राख्दै आन्दोलनमा उत्रिएपछि त्यसको प्रभाव एयरलाइन्स कम्पनीहरुमा परेको छ ।

सङ्घका अध्यक्ष रोहन गुरुङले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफूहरुको माग सम्बोधनका लागि गम्भीर नभएको भन्दै थप आन्दोलन गर्ने तयारी भइरहेको जानकारी दिए । धरौटीबापत राखेको रकमको ब्याज अन्य निकायलाई दिने व्यवस्था गरे पनि सरकारले म्यानपावर कम्पनीलाई भने नदिएको उनको भनाइ छ ।

सङ्घको आन्दोलनका कारण अन्य एयरलाइन्ससँगै नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई सबैभन्दा बढी प्रभाव परेको छ । खाडी मुलुकमा काम गर्न जाने अधिकांश नेपाली कामदार विषेशगरी ती दुई एयरलाइन्सबाट जाने गरेका छन् ।