पञ्चकोटमा चौथो महायज्ञ सुरु

पञ्चकोटको विकासका लागि अहिलेसम्म ३ हजार जना संस्थापक सदस्य बनिसकेका छन् । महायज्ञमा संस्थापक बन्न चाहनेले २५ हजार ५ सय ५५ रुपैयाँ दान गर्नुपर्नेछ । फागुन १५ गतेसम्म सञ्चालन हुने महायज्ञमा दर्शनार्थीहरुको बाक्लो उपस्थिति देखिएको छ ।

 

बागलुङ नगरपालिका—८ सर्वसिद्धिधाममा पञ्चकोटमा चौथो महायज्ञ सुरु भएको छ । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको अगुवाइमा सुरु भएको महायज्ञको उद्घाटन प्रदेशसभा सदस्यद्वय सूर्य पाठक र मनकुमारी केसीले संयुक्त रुपमा गरेका थिए ।

बन्न लागेको १ सय ८ फिट अग्लो विश्व शान्ति कलशको निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले प्रत्येक वर्ष महायज्ञ गरिने महायज्ञ मूल आयोजक समितिका अध्यक्ष नगेन्द्रराज शर्माले बताए । पञ्चकोटको विकासका लागि अहिलेसम्म ३ हजार जना संस्थापक सदस्य बनिसकेका छन् । महायज्ञमा संस्थापक बन्न चाहनेले २५ हजार ५ सय ५५ रुपैयाँ दान गर्नुपर्नेछ । फागुन १५ गतेसम्म सञ्चालन हुने महायज्ञमा दर्शनार्थीहरुको बाक्लो उपस्थिति देखिएको छ ।

१४ करोडको भौतिक संरचना निर्माण सम्पन्न

अहिलेसम्म पञ्चकोटमा निर्माण सम्पन्न भएका संरचनाहरुका लागि १४ करोड विकास खर्च भएको छ । अहिले गौशाला, अतिथि गृह, गरुडशिला, हनुमानको मूर्ति, गणेश मन्दिर, खानेपानी ट्याङ्की, सडक निर्माणलगायतका संरचना निर्माण भइसकेका छन् । प्रत्येक वर्ष हुने महोत्सवमा सङ्कलन भएको रकम पञ्चकोटकै विकासका लागि खर्चिएको शर्माले बताए ।

कलश निर्माणका लागि २ सय अर्ब आवश्यक

१ सय ८ फिट अग्लो विश्व शान्ति कलश निर्माणका लागि झन्डै २ सय करोड आवश्य पर्ने आयोजकले बताएको छ । सरकारी तथा स्थानीय तहले वित्तीय व्यवस्थापन गर्न सकेमा अबको ३ वर्षभित्र कलश निर्माण हुने बताइएको छ । पर्यटकीय तथा धार्मिक दृष्टिकोण जिल्लामा पछिल्लो समय पञ्चकोट सबैको रोजाइमा पर्ने थालेको छ । पञ्चकोटमा बनेका लोभलाग्दा धार्मिक संरचना, सडकको स्तरोन्नति र प्रचारप्रसारका कारण पछिल्लो समय पञ्चकोट घुम्न जाने पर्यटक बढ्दै जान थालेका छन् ।