वैदेशिक रोजगार बन्द हुँदा रेमिट्यान्समा दीर्घकालीन असर पुग्छ : राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक थापा

विभिन्न माग राखी ३ दिनदेखि कामदार पठाउन रोकेको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको आन्दोलनको प्रत्यक्ष अवलोकन गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका पूर्वकार्यकारी निर्देशक थापाले सरकारले बेलैमा यस विषयमा गम्भीर भएर सोच्न आवश्यक रहेको बताए ।

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले वैदेशिक रोजगार बन्दले रेमिट्यान्समा दीर्घकालीन असर पुग्ने बताए । एक वर्षदेखि मलेसियाको रोजगारी बन्द भएको प्रति टिप्पणी गर्दै निर्देशक थापाले सरकारलाई तत्कालीन र दीर्घकालीन दुवै असर पुग्ने बताए ।

विभिन्न माग राखी ३ दिनदेखि कामदार पठाउन रोकेको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको आन्दोलनको प्रत्यक्ष अवलोकन गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका पूर्वकार्यकारी निर्देशक थापाले सरकारले बेलैमा यस विषयमा गम्भीर भएर सोच्न आवश्यक रहेको बताए ।

रेमिट्यान्सले नै मुलुकको अर्थतन्त्र धानेको बताउँदै उनले नेपालीहरुको प्रमुख रोजगारगन्तव्य मलेसिया लामो समयदेखि बन्द हुनु दुर्भाग्य रहेको बताए ।

सङ्घका अध्यक्ष रोहन गुरुङले ७ दिन कामदार नपठाउने आन्दोलन साङ्केतिक मात्र भएको बताउँदै अझै सशक्त आन्दोलनको तयारी भइरहेको बताए । सरकारले व्यवसायीको माग सम्बोधन गर्न चासो नदेखाएका कारण बाध्य भएर आन्दोलन गर्नुपरेको भन्दै त्यसबाट आम नागरिकमा परेको असरप्रति क्षमा मागेका छन् ।

सङ्घले मलेसियाको रोजगारी तत्काल खुलाउनु पर्ने, म्यानपावर कम्पनीको धरौटी रकमबाट ब्याज पाउनुपर्नेलगायतका माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।