बागलुङका ४ स्थानीय तहको विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार

स्थानीय तहमै विपद विरुद्धका क्रियाकलाप सञ्चालन गर्न सकिने क्षमता विकास गर्दै प्रभावित, घाइते र मृतकको सङ्ख्या कम गर्न योजना बनाइएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए ।

बागलुङ । बागलुङ चार स्थानीय तहले विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार गरेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको अगुवाईमा स्थानीय तहले योजना बनाएका हुन् । बागलुङ नगरपालिका र जैमिनी नगरपालिका तथा काठेखोला र बडिगाड गाउँपालिकामा पहिलो चरणका योजना बनेका हुन् ।

स्थानीय तहमै विपद विरुद्धका क्रियाकलाप सञ्चालन गर्न सकिने क्षमता विकास गर्दै प्रभावित, घाइते र मृतकको सङ्ख्या कम गर्न योजना बनाइएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए । योजनाले उद्दार कर्ताको क्षमता विकास गर्ने उद्देश्य समेत राखेको सोसाइटीको बागलुङ शाखाका कार्यक्रम संयोजक श्यामप्रसाद कोइरालाले बताए । चारओटै स्थानीय तहका हरेक वडामा १२ जनाका दरले खोजी तथा उद्दार कार्यदल समेत बनाइएको छ ।

हरेक वडामा ११ देखि १७ जना सम्मको व्यवस्थापन समिति र उद्दार कार्यदल बनाएर आवश्यक सामाग्री पनि वितरण गरिएको छ ।

कार्यदल र समितिमा रहेका सदस्यलाई नेपाली सेना, प्रहरी र रेडक्रसले तालीम र सामाग्री दिने बताइएको छ । योजना बनेका गाउँ तथा नगरपरिषदले विपद् व्यवस्थापन ऐन बनाएर कार्यान्वयनमा ल्याएका छन् । गोर्खा भूकम्पपछि सरकारले विधेयक मार्फत विपद् व्यवस्थापनको नीति ल्याएको थियो ।

गत वर्ष ऐनसमेत आएकोले अब हरेक वडातहमै कार्यदल बन्ने प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए । योजनामा घटना घटेको पहिलो एकदेखि २४ घण्टा सम्म घटनास्थल पुगेर गरिने खोजी र उद्दार देखि एक महिना सम्ममा पुनस्र्थापना, राहत तथा अन्य व्यवस्थापन सहितका काम समावेश छन् । रासस