यात्रु नपाएपछि एयर अरेबियाको उडान रद्द

नेपाल वैदेशिक रोजगार व्यवसायी सघंको आन्दोलनका कारण विदेश जाने यात्रु नभएकै कारण एयर अरेबियाको जी एन ५३२ को कलसाइन भएको विमानको उडान रद्द भएकाे हाे ।

काठमाडौं । विदेश जाने यात्रु नपाएपछि एयर अरेबियाले सोमबारको उडान रद्द गरेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सघंको आन्दोलनका कारण विदेश जाने यात्रु नभएकै कारण एयर अरेबियाको जी एन ५३२ को कलसाइन भएको विमानको उडान रद्द भएको हो । एयर अरेबियाले दैनिक तीन उडान गर्दै आएकाे थियो । यात्रु नभएकै कारण उडान रद्ध गरिएको एयरलाइन्स भनाइ छ ।

संघले १ वर्षदेखि बन्द रहेको मलेसियाको रोजगारी खुलाउनुपर्ने, धरौटी बापत राख्ने रकमको ब्याज दिनु पर्ने, कामदार पठाउँदा म्यानपावर कम्पनीले पाउने सेवा सुविधा अन्य देशकै जति पाउनु पर्नेलगायतका मागहरु राख्दै गत १७ गतेबाट ७ दिनको लागि विदेशमा कुनै पनि कामदार नपठाउने निर्णय गरेको थियो ।

संघको आन्दोलनको कारण यतिबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खाली भएको छ । विशेषागरी वैदेशिक रोजगार क्षेत्रमा जाने कामदारको कारण खचाखच हुने विमानस्थल कामदार नभएकै कारण खाली भएको हो ।

संघका अध्यक्ष रोहन गुरुङले व्यवसायीहरुले ३ दिनदेखि कामदार पठाउन रोक्दासमेत सरकार गम्भीर नभएको आरोप लगाएका छन् । उनले कामदार पठाउँन रोक्ने काम रहर नभई बाध्यता भएको बताउँदै सरकारले आफूहरुको माग पूरा गर्न गम्भीर नभएमा अझ शसंक्त आन्दोलन गर्ने तयारी गरेको बताए ।

‘सरकारले नै वैदेशिक रोजगार काम छैन भनेर लेखेर दियोस्, तत्काल बन्द गर्न हामी तयार छौँ, सघंका अध्यक्ष गुरुङले भने, नत्र हाम्रो मागलाई पनि सम्बोधन गर्न तयार हुनुपर्यो नि’ ।