बुधवारदेखि अन्तर्राष्ट्रिय (सार्क) युवा वैज्ञानिक सम्मेलन हुँदै

अर्यालका अनुसार सम्मेलनमा १६ जना अन्तर्राष्ट्रिय युवा वैज्ञानिकहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपालको तर्फबाट ३५ जना युवा वैज्ञानिकहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

काठमाडौं । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर तीनको आयोजना र त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागको समन्वयमा यही बुधवारदेखि राजधानीमा अन्तर्राष्ट्रिय (सार्क) युवा वैज्ञानिक सम्मेलन शुरु हुने भएको छ ।

सम्मेलनमा नेपाल सहित बंगलादेश, भुटान, भारत, पाकिस्तान, श्रीलंका, जर्मनी, बेलायत, चीन र फिनल्याण्डका प्रतिनिधिहरुको सहभागिता रहने त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्रमुख तथा सम्मेलनका संयोजक प्राध्यापक डा. दीपक अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार सम्मेलनमा १६ जना अन्तर्राष्ट्रिय युवा वैज्ञानिकहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपालको तर्फबाट ३५ जना युवा वैज्ञानिकहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा विज्ञान तथा प्रविधिको क्षेत्रमा भए गरेका उपलब्धिहरुको अनुभव साटासाट गर्दै सिर्जनशील तथा प्रतिभाशाली युवा वैज्ञानिकहरुलाई थप प्रोत्साहित गर्नु सम्मेलनको उद्देश्य रहेको अर्यालले बताए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री (प्रदेश नम्बर तीन) अरुण नेपालले स्थानीय स्रोत साधनको समुचित प्रयोग नभए सम्म मुलुक समृद्ध हुन नसक्ने भन्दै विज्ञान तथा प्रविधिको विकासबाट मात्र स्थानीय स्रोत साधनको सही सदुपयोग सम्भव भएको उनको भनाई छ ।