पर्यटन बोर्डका तत्कालीन सीर्इओलाई ७ वर्ष कैद

विशेष अदालतले नेपाल पर्यटन बोर्डका तत्कालीन प्रमुख कार्यकारी निर्देशक सुवास निरौलालाई ७ वर्ष कैदको फैसला सुनाएको छ । बोर्डमा ३ वर्षअघि आर्थिक अनियमिताको अनुसन्धान गर्दै अख्तियारले विशेषमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले दायर गरेको मुद्धाको बिहीबार अन्तिम फैसला गर्दै निरौलालाई ८० लाख ५१ ह्जार ३ सय बिगो र ५४ लाख ५९ हजार ७ सय जरिवानाकको फैसला सुनाएको हो । निरौलासँगै बोर्डका तत्कालीन लेखा शाखा प्रमुख अनिलकुमार दास र पर्यटन व्यवसायी महेन्द्र खनाललाई पनि दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकानाथ जोशी र नारायणप्रसाद पोखरेलको इजलासले फैसला गरेको हो ।

अदालतले दासलाई ६ वर्ष कैदसँगै ५० लाख २९ हजार ५४ हजार बिगो र २४ लाख ३७ हजार ४ सय जरिवाना त्यस्तै खनाललाई एकलाख ५४ हजार बिगो तिराउने फैसला गरेको हो ।

अख्तियारले २०७१ चैत्र २० बोर्डमा करिब डेढ अर्ब भ्रष्टाचार भएको दाबी गर्दै मुद्दा दायर गरेको थियो । २३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकोमा २० जनालाई भने विशेषले सफाइ दिएको हाे ।