नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको अध्यक्षमा धरेल

पाँचौ वार्षिक साधारण सभाबाट हरि धरेल अध्यक्षमा निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा सुनार गुरुङ, सम्पन्न याकथुम्बा तथा प्रेमनारायण अधिकारी निर्वाचित भएका छन् । महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः मेघराज पौड्याल, ठाकुर न्यौपाने र दोरिन्द्रराज दाहाल निर्वाचित भएका छन् ।

काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको पाँचौँ वार्षिक साधारणसभा तथा निर्वाचन सम्पन्न भएको छ । साहसिक तथा पर्यटकीय खेल प्रवर्धन गर्ने मूल नाराका साथ ९ वर्षअघि स्थापना भएको सो संस्था नेपाली खेलकुदको क्षेत्रमा क्रियाशील छ ।

पाँचौ वार्षिक साधारण सभाबाट हरि धरेल अध्यक्षमा निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा सुनार गुरुङ, सम्पन्न याकथुम्बा तथा प्रेमनारायण अधिकारी निर्वाचित भएका छन् । महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः मेघराज पौड्याल, ठाकुर न्यौपाने र दोरिन्द्रराज दाहाल निर्वाचित भएका छन् । अधिवेशनबाट १६ जनाको कार्यसमिति गठन भएको छ ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा सङ्घीय संसद सदस्य जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई नेकपाका केन्द्रयी सदस्य सूर्य थापा, नेपालका लागि ग्रीसका महावाणिज्यदूत विक्रम पाण्डे, नेपालका लागि बेल्जियमका वाणिज्यदूत आङ्ग छिरिङ्ग शेर्पा तथा पर्वतीय खेलकुद महासङ्घ नेपालका अध्यक्ष गोविन्द भट्टराईले सम्बोधन गरेका थिए ।

साथै आज विश्व वातावरण दिवसका अवसरमा सङ्घद्वारा दिगो पर्यटनका लागि प्राकृतिक तथा साहसिक खेल विषयक अन्तरक्रियासमेत सम्पन्न भएको छ । पर्वतीय खेलकुद महासङ्घ नेपालका अध्यक्ष गोविन्द भट्टराईले खेलकुद पर्यटनसम्बन्धी विषयवस्तुबारे प्रस्तुति दिए ।

यस्तै सूर्य थापा, आङ्ग छिरिङ्ग शेर्पा, विक्रम पाण्डे र जीवनराम श्रेष्ठले नेपाल साहसिक तथा पर्यटकीय खेलकुदको प्रचुर सम्भावना भएको र पर्यटन प्रवर्धन गर्न स्पोर्ट क्लाइम्बिङले महत्त्वपूर्ण योगदान पुर्याउने बताउँदै यो ओलम्पिक खेल भएको हुँदा यसलाई सधैं साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।