नेपालमा लगानी गर्न फ्रान्सेली उद्योगीलाई प्रधानमन्त्री ओलीको आग्रह, लगानी अनुकुल वातावरण छः अध्यक्ष राणा

प्रधानमन्त्री ओलीले महासंघ र मेड मेडेफ इन्टर नेशनलबीच सहमतिपत्रमा हस्ताक्षर पछि दुवै संस्थालाई बधाई दिँदै सहमति दुई देशबीच आपसी लाभका क्षेत्रमा सहकार्य गर्न महत्वपूर्ण हुने विश्वास प्रकट गरे ।

काठमाडौं । युरोप भ्रमणको क्रममा फ्रान्स पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका उद्योगी, व्यवसायीहरुलाई नेपालमा आएर लगानी गर्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य संघका प्रतिनिधिहरुलाई साची राख्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानीको लागि उपयुक्त वातावरण रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले महासंघ र मेड मेडेफ इन्टर नेशनलबीच सहमतिपत्रमा हस्ताक्षर पछि दुवै संस्थालाई बधाई दिँदै सहमति दुई देशबीच आपसी लाभका क्षेत्रमा सहकार्य गर्न महत्वपूर्ण हुने विश्वास प्रकट गरे ।

फ्रान्सेली उद्यमी, व्यवसायी र लगानीकर्ताहरूकोसमेत बाक्लो उपस्थिति रहेको सो उच्चस्तरीय व्यवसायिक भेटवार्तामा प्रधानमन्त्री ओलीले स्वदेशी एवं विदेशी लगानी आकर्षणका लागि हालै भएका प्रगति एवं नीतिगत सुधारका विषयमासमेत स्पष्ट पारे । नेपाल तथा फ्रान्सबीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणका क्षेत्रमा सहयोग एवं सहकार्य गर्ने उद्देश्यले महासंघ र मेडेफबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

नेपाली समय अनुसार बुधबार राति सम्पन्न सो सहमतिपत्रमा महासंघका अध्यक्ष भवानी राणा र मेडेफ इन्टरनेशनलका अध्यक्ष फ्रेडरिक सान्जेजले हस्ताक्षर गरेका छन् । महासंघ र मेडेफबीच यसअघि पनि निरन्तर सहयोग एवं सहकार्य हुँदै आएको छ ।

सहमतिपत्रमा, एकअर्को देशमा व्यवसायिक प्रतिनिधिमण्डलको आदान प्रदान, आर्थिक तथा व्यापारिक क्षेत्रबाट परियोजना अध्ययन समूहको भ्रमण, दुवै संस्थाको सहयोगमा सम्बन्धित विषयमा गोष्ठी, छलफल, सेमिनारलगायतका कार्यक्रम आयोजना गर्ने, प्राविधिक क्षेत्रमा सम्मेलन आयोजना गर्ने, आर्थिक तथा व्यवसायिक क्षेत्रबीच नियमित सम्पर्कमा रहेर सूचना तथा जानकारीको आदान प्रदान गर्ने, एकअर्का देशले अवलम्वन गरेका नीति नियमहरू आदान प्रदान गर्ने, आपसी लाभका क्षेत्रमा सहकार्य गर्ने, आर्थिक व्यापारिक क्षेत्रमा सहयोगका अवसरहरू जुटाउने, व्यापारिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणमा सहकार्य गर्ने उल्लेख छ ।

अध्यक्ष राणाले आगामी दिनमा नेपाल फ्रान्सबीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा अझ बढी सहयोग पुग्ने विश्वास प्रकट गरेकी छिन् । नेपालको साना तथा मझौला व्यवसायको विकास, विस्तार तथा प्रविधिगत रुपमा उनीहरूको क्षमता विस्तारमासमेत यो सहमती कोशेढुंगा सावित हुने दावी गर्दै अध्यक्ष राणाले सहमतिपत्रमा उल्लेख गरिएका दफाहरूलाई अक्षरश कार्यान्वयन गर्न महासंघकोतर्फबाट प्रतिवद्धतासमेत जनाइन् ।

उनले नेपाललाई यतिखेर वाह्य लगानीको आवश्यकता रहेको, लगानीका लागि अत्यन्त अनुकुल समयसमेत रहेकाले लगानीका लागि आग्रह गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न महासंघले सशक्त भूमिका निर्वाह गर्नेसमेत फ्रान्सेली उद्यमी व्यवसायीहरूलाई विश्वास दिलाइन् ।

उच्चस्तरीय औपचारिक भेटवार्तामा नेपाल फ्रान्सबीच दुईपक्षीय लगानी, प्रविधि हस्तान्तरण, केवुलकार, पर्यटन पूर्वाधार, जडीबूटी प्रशोधनलगायतका क्षेत्रमा संयुक्त लगानीका लागि आग्रहसमेत गरिएको थियो ।