गाउँमै भविष्य खोज्दै युवा

गाउँका अधिकांश युवा वैदेशिक रोजगारीमा गएको देखेपछि परिवार र आफन्तबाटै विदेश जान दबाब आए पनि उनले गाउँकै तरकारी खेती गरेर मनग्य आम्दानी गर्ने योजना बनाए ।

बेझाड । आर्थिक उपार्जनका लागि गाउँबाट वैदेशिक रोजगारमा जाने युवाको सङ्ख्या बढिरहेको बेला निस्दी गाउँपालिका–५ गेझाका सारुले गाउँकै तरकारीखेतीमा आफ्नो भविष्य खोजिरहेका छन् ।

गाउँका अधिकांश युवा वैदेशिक रोजगारीमा गएको देखेपछि परिवार र आफन्तबाटै विदेश जान दबाब आए पनि उनले गाउँकै तरकारी खेती गरेर मनग्य आम्दानी गर्ने योजना बनाए ।

“घरपरिवार, आफन्त सबैले विदेश पठाउन पासपोर्ट बनाऊ भन्दै दबाब दिइरहन्थ्ये, विदेश जाने पनि ऋण खोजेरै हो, सोही रकम गाउँमै कृषिमा लगानी गर्ने सोच बनाएर तरकारी खेती गर्ने इच्छा जाग्यो”, उनले भने । विदेश नजाने निर्णय गरेपछि कतिपय आफन्त पनि टाढिन पुगेको उनले बताए । सारुले अहिले करीब दश रोपनी क्षेत्रफलमा बेमौसमी जातका तरकारी लगाएर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

भेँडेखुर्सानी, गोलभेँडा, सिमी, बोडीलगायतका विभिन्न जातका बेमौसमी तरकारी लगाउन थालेपछि हातमा दाम खाली नभएको उनले बताए ।

“विदेशमा कमाउने धन गाउँमै कमाएको छु, गाउँकै माटोमा दिनमा एक–दुई घण्टा काम गरेर प्रशस्त कमाइरहेको छु, भविष्यको बलियो व्यवसाय तरकारी खेती बनेको छ”, सारुले भने ।

खर्च कटाएर तरकारीबाट वर्षमा तीन लाखभन्दा बढी कमाई गर्ने गरेको उनले जानकारी दिए । गाउँमै सवारी साधन पुगेकाले पनि बजारसम्म तरकारी लैजान सजिलो भएको छ । यहाँ उत्पादन भएको तरकारी रामपुर बजारमा बिक्री भइरहेको छ । विदेश जान अनुरोध गर्ने आफन्त र घरपरिवार सारुको व्यवसाय देखेर अहिले दङ्ग छन् ।

विगत पाँच वर्षअघि देखि व्यवसाय शुरु गरेका सारुले गएको वर्ष घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा किसान कृषि फार्म दर्ता गरेर व्यवसाय चलाएका छन् । २९ वर्षीय सारुले तरकारीबाटै पाँच जना परिवार धान्दै आएका छन् । श्रीमती चनिसरा सारुबाट व्यवसायमा राम्रो सहयोग पाएपछि झन् हौसला मिलेको उनले बताए ।

यस व्यवसायका लागि साविक कृषि सेवा केन्द्र रामपुरमार्फत ६० हजार लिटर क्षमताको प्लास्टिक पोखरी र निस्दी गाउँपालिका कृषि शाखाबाट एक सय लिटरको चार वटा ड्रम, तरकारीका बीउबिजन सहयोग गरेको निस्दीका कृषि शाखाप्रमुख नवराज घिमिरेले बताए ।

“सारुको व्यवसाय गाउँपालिकाकै नमुना रहेको छ, यस गाउँपालिकामा विदेश गएर फर्केका र विदेश जाने तयारीमा रहेका युवाहरु गाउँमै बसेर तरकारी खेतीमा आकर्षित हुँदै गएका छन्”, उनले भने । विदेश जाने रकम गाउँकै माटोमा लगानी गर्यो भने प्रशस्त कमाई गर्न सकिन्छ भन्ने सारुको व्यवसाय एक उदाहरणीय बनेको छ ।

सिँचाइको सुविधा पुगेको ठाउँमा कम लगानीमा तरकारी लगाएर कृषकले मनग्य आम्दानी गर्न सक्छन् । विदेशबाट फर्केर कृषि व्यवसाय गर्ने युवाको लहर गाउँगाउँमा बढ्दो छ ।   रासस