कतारमा अवैध बसेका कामदार स्वदेशबाटै वैध हुने

अवैध रुपमा कतारमा बसेका आप्रवासीले आफ्नै मुलुकबाट वैध बन्ने प्रक्रियामा जान मिल्ने भएको छ । यो प्रावधानले कतारमा अवैध बसेका नेपाली कामदार पनि लाभान्वित हुने भएका छन् ।
कतार सरकारले अवैधानिक रुपमा कतारमा बसेका विदेशी कामदारलाई आफ्नै मुलुकबाट प्रक्रिया थाल्न मिल्ने प्रावधान ल्याएपछि यसबाट नेपाली कामदार पनि लाभान्वित हुने भएका हुन् ।
नेपालसहित बङ्गलादेश, इन्डोनेसिया, फिलिपिन्स, भारत, पाकिस्तान र ट्युनिसयाका नागरिकले यस्तो सुविधा पाउने कतार सरकारले जानकारी दिएको हो । अवैध रुपमा कतारमा बसेका कामदारले स्वदेशमै मेडिकल चेकअप, बायोमेट्रिक रिपोर्ट र फिङ्गरप्रिन्टका काम पूरा गर्नेदेखि रोजगार सम्झौतासमेत गर्न पाउने कतारले जानकारी दिएको छ ।
कतारमा दुई साताअघि बायोमेट्रिक प्रणाली लागू भएपछि कतारले अवैधानिक कामदारका लागि नयाँ नियम ल्याएको हो । नोभेम्बर १९ मा कतारको गृह मन्त्रालय र सिङ्गापुरको एक निजी कम्पनीबीच बायोमेट्रिक प्रणालीका विषयमा सम्झौता भएको थियो ।