काङ्ग्रेस नेता सिटौलाको घरमा बम विस्फोट

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाको घरमा सोमबार रात बम विस्फोट भएको छ । बम विस्फोट हुँदा सिटौला घरमै थिए । झापा क्षेत्र नं ३ का उम्मेदवारसमेत रहेका सिटौलाको भद्रपुर नगरपालिका चन्द्रगढीस्थित घरमा अज्ञात समूहले सुतली बम विस्फोट गराएको हो । यसबाट सिटौलाको घरमा सामान्य क्षति पुगेको र मानवीय कुनै क्षति नभएको प्रहरीले जानकारी दिएको छ । विस्फोटनका क्रममा प्रहरी पनि सिटौलाको घरमै रहेका थिए । प्रहरीले तत्काल अनुसन्धान गरे पनि कसले बम विस्फोट गराएको हो भन्ने पत्ता लगाउन सकेको छैन ।