राष्ट्रिय विषयमा नेपालका राजनीतिक दलले पछिल्ला दिनमा गर्दै आएको राष्ट्रिय सहमति र सहकार्यको संस्कारलाई आत्मसात् गर्दै आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्नेमा राष्ट्रियसभाको बैठकमा जोड दिइएको छ ।
सहमति र सहकार्यबाटै मुलुकका सामु रहेका ठूला ठूला समस्या समाधान भएको दृष्टान्त पेश गर्दै राष्ट्रियसभा सदस्यले कुनै पनि विचार र वादभन्दा माथि उठेर मुलुकको हितलाई नै केन्द्रमा राख्नुपर्नेमा जोड दिए ।
आर्थिक अनुशासन र वित्तीय पारदर्शिता कायम गरी लगानीमैत्री वातावरण निर्माण गर्नु प्रमुख आवश्यकता रहेको छ भन्दै उनीहरुले सत्तपक्ष र प्रतिपक्षको मान्यताबाट माथि उठेर सहकार्यको संस्कृतिलाई थप फराकिलो बनाउनुपर्ने विचार राखे ।
नेपालले अवलम्बन गरेको लोकतन्त्र विश्वकै लागि मौलिक र सुन्दर राजनीतिक अभ्यास भएको छ भन्दै उनीहरुले सबै राजनीतिक दलले राष्ट्र र जनतालाई केन्द्रमा राख्नु जरुरी रहेको बताए ।
राष्ट्रियसभा सदस्य दीनानाथ शर्माले आर्थिक समृद्धिका लागि सबै दल मिलेर काम गर्नुपर्ने र जनताका सामु गरिएका वाचा पूरा गर्नैपर्ने बताए ।
सदस्य राधेश्याम अधिकारीले वर्तमान सरकारले सुशासन कायम गर्दै भ्रष्टाचार र अनियमितताको नियन्त्रण गर्नु जरुरी छ भन्दै प्रधानमन्त्रीले नै राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभागजस्ता निकाय आफैँमा राख्नु सुखद् नभएको बताए ।
सदस्य वृषेशचन्द्र लालले संविधानलाई सर्वस्वीकार्य बनाई जनतालाई अधिकार सम्पन्न बनाउन सबै सरोकार भएकाको माग र चाहनालाई सम्बोधन गर्नुपर्ने बताए ।
सदस्यद्वय गणेश तिमिल्सिना र प्रमिला कुमारीले प्राकृतिक स्रोत तथा साधनको समुचित उपयोग गरी समृद्धिको यात्रामा लाग्नुपर्ने स्पष्ट पारे । राष्ट्रियसभाको अर्काे बैठक यही फागुन ३० गते अपराह्न १ बजे बस्नेछ ।