काँग्रेसले लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले सहिद देवानसिंह राईकी सुपुत्री लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए ।

नेपाली काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा लक्ष्मी राईलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले सहिद देवानसिंह राईकी सुपुत्री लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । लक्ष्मी राई काँग्रेसकी पूर्व केन्द्रीय सदस्य एवम् पूर्वसभासद् हुन् । बैठकमा उपराष्ट्रपति, सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने सम्बन्धमा छलफल भए पनि त्यसमा केही निर्णय हुन सकेन ।

नेपालको संविधानअनुसार सङ्घीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन लागेको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने भएको छ । सो निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ । रासस