यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि उनीहरुले आज उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
नेकपा (एमाले) का तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली काँग्रेसका तर्फबाट नेत्री लक्ष्मी राईले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि उनीहरुले आज उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीका प्रस्तावक सांसद माधवकुमार नेपाल, भीमबहादुर रावल, सुवास नेम्वाङ, ईश्वर पोखरेल र ओनसरी घर्ती तथा समर्थकमा सांसद रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, गोकर्णराज विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन् ।
राष्ट्रपति भण्डारीले आफैँ निर्वाचन अधिकृतको कार्यालय पुगी उम्मेदवारी दर्ता गराएकी हुन् । नेकपा (एमाले) ले मङ्गलबार वर्तमान राष्ट्रपति भण्डारीलाई नै पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
यसै गरी नेपाली काँग्रेसकी नेत्री लक्ष्मी राईले राष्ट्रपतिको निर्वाचनका लागि आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएकी छिन् ।
भोजपुरका सहिद दिवानसिंह राईकी सुपुत्री लक्ष्मी राईले आज उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् । उनका प्रस्तावक सांसद चित्रलेखा यादव, मानबहादुर विक, पार्वता डिसी चौधरी, देवेन्द्रराज कँडेल र सुरेन्द्रराज पाण्डे तथा समर्थकमा सांसद मेखलाल श्रेष्ठ, शिवचन्द्र चौधरी, सरिता प्रसाईं, सुजाता परियार र राधा घले छन् ।
काँग्रेसको आजै बसेको केन्द्रीय कार्यसमिति बैठकले उनलाई पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति,सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन लागेको छ । राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।