सहभागीले ‘महिला हिंसा अन्त्य गरौँ’, ‘मानव बेचबिखनरहित समाज निर्माण गरौँ’ र ‘घर शान्ति नै विश्व शान्तिको आधार’ लेखिएका प्लेकार्ड बोकेका थिए ।
एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा आज पदयात्रा गरिएको छ ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, रक्षा नेपाल लगायतका सङ्घसंस्थाद्वारा आयोजित भृकुटीमण्डपबाट सुरु भएको पदयात्रा भद्रकाली मन्दिर, सहिद गेट, नयाँ बाटो हुँदै रत्नपार्कस्थित शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको हो । र्यालीमा सहभागीले ‘महिला हिंसा अन्त्य गरौँ’, ‘मानव बेचबिखनरहित समाज निर्माण गरौँ’ र ‘घर शान्ति नै विश्व शान्तिको आधार’ लेखिएका प्लेकार्ड बोकेका थिए ।
सो अवसरमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले महिला हिंसा अन्त्यका लागि महिला एकजुट हुनुपर्नेमा जोड दिइन् । अन्तर्राष्ट्रिय महिला दिवसमा यस वर्षको नारा ‘आर्थिक सशक्तीकरण सहितको सामाजिक जागरण: ग्रामीण तथा सहरी महिलाको जीवनस्तरमा रुपान्तरण’ भन्ने छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरुकतासम्बन्धी दिवस हो । यो दिवस प्रत्येक वर्ष ८ मार्चमा विश्वभर मनाइन्छ ।
यो सर्वप्रथम १९०९ फेबु्रअरी २८ मा मनाइएको थियो । सन् १९१० मा महिलालाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको थियो । रासस