लायन्स क्लबले म्याग्दीमा चार करोड ५० लाखमा विद्यालय भवन बनाउने

जिल्लामा नेतृत्व, व्यक्तित्व विकास सँगै सामाजिक तथा परोपकारी कार्यमा सक्रिय रहेको लायन्सले बेनी नगरपालिका–९ तोरीपानीमा अवस्थित गलेश्वर मावि र मालिका गाउँपालिका–७ विमको किसानी माविमा आठ कोठे भवन निर्माणका लागि प्रतिविद्यालय दुई करोड २५ लाख रुपैयाँ विनियोजन गरेको लायन्स क्लबका प्रमुख सल्लाहकार चन्द्रकुमार केसीले जानकारी दिए ।

मानवीय सेवामा संलग्न विश्वमै ठूलो सामाजिक संस्थामा पर्ने लायन्स क्लब इन्टरनेसनलले म्याग्दीका दुई सामुदायिक विद्यालयलाई चार करोड ५० लाख रुपैयाँमा भवन बनाइदिने भएको छ ।

जिल्लामा नेतृत्व, व्यक्तित्व विकास सँगै सामाजिक तथा परोपकारी कार्यमा सक्रिय रहेको लायन्सले बेनी नगरपालिका–९ तोरीपानीमा अवस्थित गलेश्वर मावि र मालिका गाउँपालिका–७ विमको किसानी माविमा आठ कोठे भवन निर्माणका लागि प्रतिविद्यालय दुई करोड २५ लाख रुपैयाँ विनियोजन गरेको लायन्स क्लबका प्रमुख सल्लाहकार चन्द्रकुमार केसीले जानकारी दिए ।

‘जिल्लाका अन्य सामुदायिक विद्यालयमा समेत प्रयास भएको थियो । छनोट समितिले प्राविधिक शिक्षालयलाई प्राथमिकता दियो’, केसीले भने । किसानी माविमा आइएसई (एजी) कृषि र गलेश्वर माविमा इन्जिनियरिङ पढाइ हुने गरेको छ । देशभरका लायन्स क्लबबाट सामुदायिक विद्यालयको भौतिक संरचना, विद्यार्थीको सङ्ख्यालगायत स्थलगत रुपमा अनुगमन गरी सिफारिस गरिएका विद्यालयलाई नौ सदस्यीय टोलीले छनोट गरेको थियो । स्थलगत अनुगमनका क्रममा जिल्लाका आवश्यक संरचना भएका विद्यालयको जग्गाको अभाव तथा साँघुरो संरचनाले समेत थप विद्यालय छनोट हुन नसकेको लायन्स क्लबले जनाएको छ ।

छनोटमा परेको गलेश्वर माविमा माध्यमिक तहमा जिल्लामै एक मात्र इन्जिनियरिङ कक्षा र किसानी माविमा कृषि जेटिए कक्षा सञ्चालन भइरहेको छ । दुवै विद्यालयमा विद्यार्थीको आकर्षण धेरै भए पनि भौतिक संरचनाको आवश्यकता रहेको थियो । लायन एमजिएफ सन्तोष रावलका अनुसार जिल्लामा चारओटा सामुदायिक विद्यालयको भवनका लागि प्रयास भए पनि दुईटा मात्रै छनोटमा परेका हुन् । रासस