गएको साता जर्मनीको उच्चस्तरीय प्रशासनिक अदालतले सहरी वायु प्रदूषण कम गर्न सहरका केही सडकहरुमा कार गुडाउन निषेध गर्ने आदेश दिएको छ । न्युयोर्क टाइम्सका अनुसार यो निर्णयले देशका अन्य सहरहरुलाई कारमुक्त बनाउन निकास दिनेछ । उच्च प्रदूषणस्तर भएका जर्मनीका दुइटा सहर – स्टटगार्ट र डसेलडोर्फले सम्भवतः यही वर्षको अन्त्यसम्म प्रतिबन्ध लगाउँछन् । मर्सिडिज–बेन्ज तथा पोर्श कम्पनीको...
गएको साता जर्मनीको उच्चस्तरीय प्रशासनिक अदालतले सहरी वायु प्रदूषण कम गर्न सहरका केही सडकहरुमा कार गुडाउन निषेध गर्ने आदेश दिएको छ । न्युयोर्क टाइम्सका अनुसार यो निर्णयले देशका अन्य सहरहरुलाई कारमुक्त बनाउन निकास दिनेछ ।
उच्च प्रदूषणस्तर भएका जर्मनीका दुइटा सहर – स्टटगार्ट र डसेलडोर्फले सम्भवतः यही वर्षको अन्त्यसम्म प्रतिबन्ध लगाउँछन् । मर्सिडिज–बेन्ज तथा पोर्श कम्पनीको गृहनगर स्टटगार्टले हालै यस किसिमको प्रतिबन्धलाई समर्थन गरेको छ । सन् २०१७ मा स्टटगार्टले वर्षको सुरुमै उच्च प्रदूषण हुने दिनहरुमा उत्सर्जन मानक पूरा नगर्ने डिजल वाहनहरुलाई सहरभित्र प्रवेष नदिने घोषणा गरेको छ ।
तर, केवल जर्मन सहरमात्रै कार मुक्त आन्दोलनमा जान तयार भएका होइनन्, विश्वभरिका सहरी योजनाकार तथा नीति निर्माताहरुले यस्तो मन्थनको सुरुआत गरिसकेका छन् जसले सहरका पैदल यात्रु तथा न्यून कार्बनडाईअक्साइड उत्सर्जन गर्नेहरुका लागि प्रशस्त स्थान बनाउन सकियोस् ।
कार–मुक्त आन्दोलनका १३ओटा अगुवा सहरहरुः
नर्वेको देशव्यापी प्रतिबन्ध प्रभावकारी हुने ।
मुलुकभरि प्रतिबन्ध लागू हुनुभन्दा छ वर्ष अघि नै २०१९ सम्म नर्वेजियन राजधानी ओस्लोले आफ्ना सहरका केन्द्रबाट स्थाईरुपले सबै कारलाई प्रवेश गर्न प्रतिबन्ध लगाउने योजना बनाउँदै छ ।
नर्वेजियन राजधानीले सार्वजनिक यातायातमा ठूलो धनराशी लगानी गर्नेछ तथा यसअघि कारले ओगटेको ३५ माइल सडकलाई साइकलका लागि छुट्टयाइने छ ।
न्युयोर्क सहरमा बाइकर्सलाई समर्थन गर्ने तथा कार–मुक्त सहरको वकालत गर्ने गैरसरकारी संस्था ‘वैकल्पिक यातायात’का कार्यकारी निर्देशक पाउल स्टिली ह्वाइट भन्छन्, ‘सत्य कुरा के हो भने ओस्लो द्रुत गतिमा अगाडि बढिरहनु उत्साहजनक छ, र मलाई लाग्छ यदि उनीहरु यसमा सफल भए भने यो हाम्रा लागि प्रेरणादायी हुनेछ ।’
म्याड्रिडले अझ व्यापक प्रतिबन्धको योजना बनाउँदै
म्याड्रिडले २०२० सम्म आफ्नो सहरको केन्द्रबाट ५ सय एकड क्षेत्र वरपरसम्म कार गुडाउन प्रतिबन्ध लगाउने योजना बनाएको छ । साथै सहरी योजनाकारहरुले सहरका व्यस्तमध्ये २४ ओटा सडकलाई ड्राइभिङको साटो पैदलमार्ग बनाउन नयाँ योजना बनाउँदै छन् ।
यो पहल सहरको ‘दिगो गतिशील योजना’कै हिस्सा हो जसका लक्ष्य कारको प्रयोग दैनिक २९ बाट २३ प्रतिशतमा ल्याउनु हो । यो नयाँ नियम उल्लङ्घन गर्ने चालकले कम्तीमा सय डलर जरिवाना तिर्नुपर्ने हुन्छ । बढी प्रदूषण फैलाउनेले अझ बढी जरिवाना तिर्नुपर्ने हुन्छ ।
स्थानीय पैदल यात्री वकालत समूह ए पीआईईका दुई जना आर्किटेक्ट एवम् सहरी योजनकार मेटेउस पोर्टो तथा भेरोनिका मार्टिनेजले फास्ट कम्पनीलाई भने, ‘छिमेकमा सानो हस्तक्षेपले पनि ठूलै काम गर्न सक्नुहुन्छ’, हामीलाई विश्वास छ, सहरको भविष्यबारे सामान्य योजना जेसुकै होस् तर, कुनै राजनीतिक इच्छाशक्ति छ भने धेरैथोक गर्न सकिन्छ ।’
चीनका मान्छे चेङ्दू सहरमा १५ मिनट या त्योभन्दा थोरै समयमा जतासुकै जान सक्षम हुनेछन् ।
शिकागोका आर्किटेक्ट एड्रियन स्मिथ तथा गोर्डन गिलले चिनी सहरका लागि एउटा नयाँ आवासीय क्षेत्र बनाएका छन् । त्यसको डिजाइन यस्तो छ कि ड्राइभ गर्नुभन्दा हिँडेरै सहरको जुनसुकै ठाउँमा १५ मिनेटमा जान सकिन्छ । जबकि चेङ्दूले पूर्णरुपमा कारमाथि प्रतिबन्ध लगाउने छैन, ८० हजार जनसङ्ख्या भएको उक्त सहरमा आधा बाटोमा मात्र सवारीसाधन चलाउने अनुमति हुनेछ । उक्त फर्मले विशेष गरी २०२० सम्म यसलाई सम्पन्न गर्ने योजना बनाएको थियो तर, क्षेत्रीय मुद्दाले समय सीमामा ढिलाइ भइरहेको छ ।
ह्याम्बर्गले आफूलाई सवारीरहित बन्न सहज बनाउँदै छ ।
जर्मन सहरले आफ्नो प्रमुख यातायातको प्रारुप पैदल तथा साइकल यात्रुका लागि योजना बनाउँदै छ । आगामी दुई दशकभित्र ह्याम्बर्ग सहरका केही क्षेत्रहरुमा केवल पैदल तथा बाईकर्सहरुलाई मात्र जाने अनुमति दिएर कारको सङ्ख्या कम गर्नेछ ।
यो परियोजनालाई ‘हरित सञ्जाल’ भनिन्छ जससँग जोडिएका स्थानमा कारबिना मान्छेहरु आवतजावत गर्न सक्छन् । सन् २०५३ सम्म यो सञ्जालले पार्क, खेल मैदान, तथा चिहानसहित ४० प्रतिशत खुला भाग ओगट्ने छ ।
कोपेनहेगनका सडकमा साइकलको शासन जारी रहने
आज, कोपेनहेगनका आधाजसो मान्छेले दैनिक कामका लागि साइकल चढ्छन्, १९६० को दशकमा सुरु गरिएको पैदल यात्री–मात्र क्षेत्र घोषणा गर्ने सहरको प्रयासलाई धन्यवाद । डेनमार्कको राजधानीमा अब दुई सय माइलभन्दा बढी साइकल लेन छन् तथा युरोपमा सबैभन्दा न्यून प्रतिशत कार भएको सहर बनेको छ ।
साइकलका लागि एउटा सुपर हाईवे निर्माण गर्नु नवीनतम लक्ष्य हो, जुन छेउछाउका उपनगरहरुसम्म फैलिने छन् । कुल २८ ओटा योजनाबद्ध मार्गमध्ये पहिलो सन् २०१४ मा खुल्यो, तथा अरु ११ ओटा २०१८ को अन्त्यसम्म पूरा हुनेछन् । सहरले २०२५ सम्म पूर्णरुपमा कार्बन–तटस्थ बन्ने वचन दिएको छ ।
पेरिसले डिजल कारलाई प्रतिबन्ध तथा साइकल लेनको सङ्ख्या दोब्बर पुर्याउने छ ।
जब पेरिसले २०१४ मा एक दिनका लागि जोर–नम्बरका कारमा प्रतिबन्ध लगायो, प्रदूषण ३० प्रतिशतले कमी भयो । अब सहरको मुख्य केन्द्रमा वाहन चलाउन सदाका लागि निरुत्साहित गर्न खौज्दै छ ।
जुलाई २०१६ सम्म १९९७ भन्दा पहिला बनेका गाडी लिएर साताको कार्य दिनमा सहरभित्र जाने अनुमति थिएन । यदि गए भने जरिवाना दिनुपथ्र्यो, तर बिदाका दिन भने कुनै रोकटोक थिएन ।
मेयर भन्छन् पेरिसले २०२० सम्म साइकल मार्गलाई दोब्बर तथा अन्य विद्युतीय वाहनका लागि सडकसीमा निक्र्योल गर्ने योजना बनाउँदै छ । सहरमा उत्सर्जन रोक्नका लागि साना तथा अल्प–अवधिको प्रयास पनि जारी छन् – यहाँ पहिलो कार–मुक्त दिन २०१५ मा गरिएको थियो, र यसलाई २०१६ देखि कार–मुक्त आइतबार भनी स्थापित गरियो ।
लन्डनमा ड्राइभरलाई भीड गरेवापतको कर लागू
पेरिसमा जस्तै लन्डनमा पनि २०२० सम्म डिजेल कारमा प्रतिबन्ध लगाइने लन्डनका मेयरले बताएका छन् ।
अहिले सहरमा डीजल कारलाई निरुत्साहित गर्न सहरका निश्चित क्षेत्रभित्र पिक आवरमा प्रवेश गर्ने सवारीलाई साढे बाह्र डलर जरिवाना लिने गरिएको छ । यसप्रकारको जरिवानालाई तिनीहरुले ‘भीडभाड शुल्क’ भनेका छन् ।
‘लन्डनले पहिलेदेखि नै अल्ट्रा न्यून उत्सर्जन क्षेत्रका बारेमा छलफल गरिरहेको छ’, ‘स्तरीय यातायातका लागि अभियान’का स्टिफन जोसेफले द टेलिग्राफलाई भने, ‘हाम्रो योजना पेरिसमा गरिए जस्तै पूर्ण रुपले प्रतिबन्ध लगाउने हैन ।’
बेलायतले २०४० सम्म नयाँ डिजेल र ग्यासबाट चल्ने सबै सवारी साधन पूर्णरुपमा प्रतिबन्ध लगाउने घोषणा जुलाई २०१७ मा गरेको छ । द गार्जियनका अनुसार बेलायतले बढ्दो वायु प्रदूषण सङ्कटबाट निकास पाउन यो लक्ष्य लिएको हो ।
ब्रसेल्स, युरोपमा सबैभन्दा ठूलो कार–मुक्त क्षेत्र बेल्जियममा ।
ब्रसेल्स सहरको मुख्य केन्द्रबिन्दु– स्टक एक्सचेन्ज, रुई न्युभ (मुख्य सपिङ सेन्टर) सहित अधिकांश सडकहरु सधैं पैदल यात्रुका लागि मात्र हुन् । कोपेनहेगनपछि सबैभन्दा ठूलो कार–मुक्त क्षेत्र भएको युरोपको यो दोस्रो सहर हो ।
सन् २००२ मा ब्रसेल्सले आफ्नो पहिलो ‘मोबिलिटी विक’ लागू गर्यो, जसको तात्पर्य निजी सवारीसाधनभन्दा सार्वजनिक यातायातलाई बढी प्रोत्साहन गर्नु थियो । र, एक दिन प्रत्येक सेप्टेम्बरका लागि, पूरै सहरमा कारको प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।
कार मुक्त क्षेत्रलाई अझ विस्तार गर्न सहरमा अन्य उपायहरुको खोजी गरिँदै छ । त्यसमध्ये एउटा प्रस्ताव हो,– एउटा प्रसिद्ध चार लेनको सडकलाई पैदलमार्गमा रुपान्तरण गर्ने । ब्रसेल्सले १९९८ भन्दा पहिले बनेका डिजल गाडीहरुलाई गत जनवरी २०१८ देखि प्रतिबन्ध गरेको छ । र, द गार्जियनका अनुसार आउँदो गर्मीयामको उच्च–वायु–प्रदूषण हुने दिनमा सार्वजनिक यातायात–मुक्त सहर बनाउने भएको छ ।
बर्लिनमा साइकलका लागि सुपर–हाईवे ।
राष्ट्रिय उत्सर्जन मापदण्ड पूरा नगर्ने सबै ग्यास तथा डिजल गाडीमा जर्मनीले २००८ मा प्रतिबन्ध लगाएर राजधानी बर्लिनलाई न्यून उत्सर्जन क्षेत्र बनायो । कब्र्डका अनुसार यस क्षेत्रले सहरको केन्द्रबाट लगभग ३४ वर्गमिल दूरीसम्म ओगट्छ र बर्लिनवासीहरुको लगभग एक तिहाई जनसङ्ख्यालाई प्रभाव पार्छ ।
बर्लिनले मार्च २०१७ मा एक दर्जनभन्दा बढी ‘बाइक सुपर हाईवे’ बनाउने एउटा योजना घोषणा गर्यो । ती सबै हाइवे कम्तीमा १३ फुट चौडा हुने र सबै किसिमका वाहन निषेधित हुनेछन् । सहरमा यस्ता सडक २०१७ को अन्त्यबाट बनाउन थालियो ।
मेक्सिको सिटीको मुख्य सहरी क्षेत्रमा लगभग २० लाख कारलाई प्रतिबन्ध लगाइने अपेक्षा ।
अप्रिल २०१६ मा मेक्सिको सिटीको स्थानीय सरकारले सहरको निश्चित भागमा सातामा दुई कार्यदिन र महिनाका दुई शनिवार कार ड्राइभिङलाई निषेध गर्ने निर्णय गर्यो । यसले यो पनि निश्चित गर्ने छ कि स्वीकृत नम्बर प्लेटलाई दिइएको जोर–बिजोर प्रणालीमा कुन दिन कुन कार गुडाउन पाइन्छ ।
एसोसिएटेड प्रेसका अनुसार यो नीति अनुमानित दुई लाख कारमा लागू हुन्छ र सहरको उच्च धूवाँस्तरलाई न्यूनीकरण गर्न सहयोग पुग्नेछ ।
बोगोटाले सन् १९७४ देखि नै सडकबाट कार हटाउने अभियान चलाइएको छ ।
कोलम्बियाको बोगोटामा १९७४ मा सुरु भएको ‘साइक्लोभिया’ अभियानदेखि साताको एक दिन त्यहाँको ७५ माइल सडकमा गाडी चलाउन प्रतिबन्ध लगाइयो । सहरमा अहिले दुई सय माइलभन्दा बढी साइकल मात्र चलाउन पाइने सडक छन् ।
त्यहाँको स्थानीय सरकारले सन् २०१३ मा ‘पिक एन्ड प्लेट’ कार्यक्रम लागू गर्यो जसले पिक आवरमा निश्चित स्थानमा वाहन चलाउन प्रतिबन्ध लगायो । यस प्रतिबन्धले साताका कुनै निश्चित दिन जोर–बिजोर प्रणालीमा मात्र गाडी चलाउन पाइने भयो ।
सान फ्रान्सिस्कोमा सबैभन्दा व्यस्त सडकमा कार प्रतिबन्ध गरिने ।
एसएफ गेट अनलाइन समाचारअनुसार अगस्त २०१७ मा सान फ्रान्सिस्कोले सहरको अत्यन्त व्यस्त रहने मार्केट स्ट्रिटबाट २.२ माइल दूरीसम्म कार प्रतिबन्ध गर्ने र त्यहाँ साइकलमार्ग बनाउने योजना सार्वजनिक गर्यो । सहरभरि साइकलका लागि कुल १२५ माइल सडक छ ।
छ सय ४ मिलियन डलरको ८ वर्षे निर्माण योजनाले सहरका बाटाहरुलाई अझ पैदलयात्रुमैत्री बनाउने लक्ष्य लिइएको छ । यो योजना सम्पन्न हुन कैयौं वर्ष लाग्ला, तर पहिलो चरणको निर्माण कार्य २०१८ को सुरुदेखि नै थालिएको छ ।
यद्यपि न्युयोर्क सहरले निकट भविष्यमै कार चलाउन प्रतिबन्ध लगाउने कुनै योजना बनाएको छैन, तर यहाँ साइकल चलाउन पनि मिल्ने खालको पैदल मार्गको क्षेत्रफल विस्तार गरिरहेको छ, वैकल्पिक सडक र सार्वजनिक बसको विकल्प बढाइरहेको छ ।
टाइम्स स्क्वायर, हेराल्ड स्क्वायर, तथा म्याडिसन स्क्वायर पार्क जस्ता लोकप्रिय क्षेत्रका लेनहरु स्थायी रूपलै केवल पैदलयात्रीका लागि मात्र हुन् । सेन्ट्रल पार्कदेखि ब्रुकलिन ब्रिजसम्मको मुख्य राजमार्गमा सवारीसाधन चलाउन नपाइने र केवल पैदल यात्रुका लागि मात्र खुला रहने वार्षिक महोत्सवमा अगस्ट महिनाका तीनओटा शनिवार लाखौं सर्वसाधारणले समर स्ट्रिटको आनन्द लिने गर्छन् ।
न्युयोर्क सहरमा आधारित वैकल्पिक यातायातले पनि सहरसँग मिलेर धेरैभन्दा धेरै पैदलमार्ग बनाउने आशा गरेको छ । कार–मुक्त सहरको वकालत गर्ने गैरसरकारी संस्था ‘वैकल्पिक यातायात’का कार्यकारी निर्देशक पाउल स्टिली ह्वााइटले भने, सहरी योजनाकारहरुले न्युयोर्क वा अन्यत्र कतै पनि अब ड्राइभरहरुका लागि कुनै व्यवस्था नगर्ने भएका छन् बरु सहरलाई अलग ढङ्गले लैजान सोचिरहेका छन् ।
‘यदि चासो लिन्छन् भने सर्वसाधारणको दैनिक जिन्दगी यस्तै हुन्छ’, ह्वाइटले भने, ‘सहरी वासिन्दाका रुपमा सबैभन्दा खराब चिज हो टेक्सीबाहेक यातायातको अर्को विकल्प नहुनु ।’
लिएन्ना गारफिल्ड टेक इनसाइडरकी इनोभेसन रिपोर्टर हुन् ।
साभार : विश्व आर्थिक मञ्च