नेप्सेमा ‘ब्रेकआउट’को संकेत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको रेखाचित्र विश्लेषणले सेयर बजारमा ‘ब्रेकआउट’को संकेत देखिएकोछ । सेयर बजारको पछिल्लो एक महिनाको रेखाचित्र विश्लेषणबाट यस्तो संकेत मिलेको हो ।

नेप्से परिसूचकमा ‘डबल बटम’ (अंग्रेजी अक्षर ‘डब्ल्यू’जस्तै) आकृति तयार भएको छ । १६ कात्तिकमा १५ सय २३ अंकमा रहेको नेप्से परिसूचक त्यसयता ‘डबल बटम’ आकृति पुरा गरेर मंगलवार पुनः १५ सय २३ अंकमै फर्किएको छ । केही दिन यता बजार सुधारको क्रममा देखिँदा अझ सुधारको आस गर्ने ठाउँ दिएको विश्लेषकहरु बताउँछन् ।

प्राविधिक रुपमा हेर्दा मंगलवार मात्रै बजार सूचकांकले ‘डबल बटम’ आकृति पुरा गरेको छ । यो प्रतिरोध अंक पनि हो । उक्त प्रतिरोधलाई तोडेर बजार सूचकांक उकालो लागेमा नेप्सेमा ब्रेकआउट देखिनेछ । यसरी परिसूचक उकालो लागेमा १५ सय ७२ अंकसम्म जानसक्ने प्रविधिक विश्लेषणमा देखिन्छ । यदी उक्त प्रतिरोध विन्दुबाट परिसूचक ओरालोे लागेमा भने १४ सय ६० को न्यूनतम विन्दुमा नै नेप्सेले टेवा परिक्षण गर्ने छ ।

डबल बटम आकृति तयार हुनुअघि नेप्सेमा ११० अंकको गिरावट देखिएको थियो । ठूलो अन्तरले बजार घटेपछि हालैका सातामा केही सुधार हुन खोजेजस्तो देखिएको छ । तथापि, पछिल्लो तीन महिनाको प्रबृत्ती हेर्दा नेप्से ओरालो लाग्ने क्रममा नै देखिएको छ । यसले सेयर बजारमा अझै घट्ने संभावनालाई नकार्न पनि सकिँदैन ।

मंगलवार बीमा र उत्पादन समूहको परिसूचक बाहेक अन्य सबै समूहको सूचकांक उकालोे लागेका छन् । नेपाल टेलिकमको सेयर मूल्य ३७ रुपैयाँ बढ्दा ‘अन्य’ समूहको परिसूचक ४ प्रतिशतभन्दा धेरैले बढेको छ । जलविद्युत् र होटेल समूहको परिसूचक पनि १ दशमलव ५ प्रतिशतको हाराहारीमा बढेका छन् ।

मंगलवार चिलिमे जलविद्युत् कम्पनीको सर्वाधिक ४ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन मिशन डेभेलपमेण्ट बैंकको सेयर ७ दशमलव ८१ प्रतिशत बढेको छ । त्यस्तै कुबेर मर्चेण्ट फाइनान्सको सेयर मूल्य ३ दशमलव २३ प्रतिशत घटेको छ ।