स्टिफन हकिङको ७६ वर्षको उमेरमा निधन

स्टिफन हकिङका सन्तान लुसी, रोबर्ट तथा टिमले एउटा विज्ञप्तिमा भने, ‘हाम्रा प्यारा बुवा आज हामीलाई छोडेर जानुभयो, हामीलाई बडो दुख लागेको छ ।’

विश्वका प्रसिद्ध भौतिक वैज्ञानिक प्रोफेसर स्टिफन हकिङको ७६ वर्षको उमेरमा बुधवार बेलायतको क्याम्ब्रिजस्थित उनको आफ्नै घरमा निधन भयो । स्टिफन हकिङका सन्तान लुसी, रोबर्ट तथा टिमले एउटा विज्ञप्तिमा भने, ‘हाम्रा प्यारा बुवा आज हामीलाई छोडेर जानुभयो, हामीलाई बडो दुख लागेको छ ।’ ब्ल्याक होल तथा बिग ब्याङ थ्यौरीका बारेमा जानकारी दिने हकिङबारे केही जानकारीः

विश्वविख्यात भौतिक वैज्ञानिक तथा कस्मोलोजिस्ट हकिङलाई ब्ल्याक होल्समाथि उनले गरेका कामका कारण चिनिन्छ ।

८ जनवरी, १९४२ मा दोस्रो विश्वयुद्धताका बेलायतको अक्सफोर्डमा उनको जन्म भएको थियो ।

ग्यालिलियोको मृत्यु भएको ठीक तीन सय वर्षपछि हकिङको जन्म भएको थियो । सन् १९८८ मा उनको पहिलो पुस्तक ’अ ब्रिफ हिस्ट्री अफ टाइमः फ्रम द बिग ब्याङ टु ब्ल्याक होल्स’ बजारमा आएपछि उनी निकै चर्चित बनेका थिए ।

त्यसपछि कस्मोलोजीका बारेमा उनको पुस्तक एक करोडभन्दा बढी बिक्री भएका थिए । यसलाई विश्वमा विज्ञानसम्बन्धी सबैभन्दा बढी बिक्री हुने पुस्तक मानिन्छ ।

१९६३ मा स्टिफन हकिङ केवल २१ वर्षका हुँदा एमिओट्रोफिक ल्याटेरल स्क्लेरोसिस (एएलएस) नामक रोग लाग्यो । यस रोगका कारण उनका धेरै जसो अङ्गहरुले विस्तारै विस्तारै काम गर्न छोडे । यो रोग लागेका अधिकांश बिरामी सामान्यतया २ देखि ५ वर्षसम्म मात्र बाँच्दछन् तर, उनी दशकौंसम्म बाँचे ।
स्टिफन हकिङ ह्वीलचेयरको सहयोगले मात्र यताउती हिँडडुल गर्न सक्थे । यो रोग लागेकामध्ये सबैभन्दा बढी बाँच्ने अहिलेसम्म उनी मात्र थिए ।

मात्र २१ वर्षको उमेरमा रोगग्रस्त बने पनि उनले आफ्नो अध्ययन जारी राखे तथा अनेकौं आश्चर्यजनक अनुसन्धान विश्वसामु ल्याए । हकिङ एउटा कम्प्युटर सिस्टमबाट पूरा विश्वको सम्पर्कमा हुन्थे ।

सन् २०१४ मा स्टिफन हकिङको प्रेरक जीवनमा आधारित फिल्म ’द थ्यौरी अफ एभ्रीथिङ’ रिलिज भएको थियो ।

प्रोफेसर हकिङ्ले १९६५ मा ’प्रोपर्टिज अफ एक्सप्यान्डिङ युनिभर्सेज’ विषयमा पीएचडी गरेका थिए ।

अति चाखलाग्दो कुरा त, स्टिफन गणित पढ्न चाहन्थे, तर उनका बुवाले मेडिकल पढ्ने सल्लाह दिए । युनिभर्सिटी कलेजमा गणित उपलब्ध थिएन, त्यसकारण उनले फिजिक्स रोजे । तीन वर्षपछि उनलाई नेचुरल साइन्समा फर्स्ट क्लास अनर्स डिग्री प्राप्त भयो ।