फिनल्यान्ड पहिलो स्थानमा, अन्तिममा बुरुन्डी चीन, श्रीलङ्का, म्यान्मार र भूटान पनि भारतभन्दा बढी खुसी
यूएनले सबैभन्दा बढी खुसी १५६ देशको सूची जारी गरेको छ ।
संयुक्त राष्ट्रको नयाँ रिपोर्टमा फिनल्यान्डलाई सबैभन्दा बढी खुसी देश बताइएको छ । अर्कोतर्फ कठिन परिस्थितिहरुको समाना गरिरहेको देश बुरुन्डीका नागरिक सबैभन्दा बढी दुखी छन् । अध्ययनमा सबैभन्दा खुसी प्रवासी पनि फिनल्यान्डमा नै भएको पाइएको छ । १५६ देशहरुको सूचीमा फिनल्यान्ड गत वर्ष ५औं नम्बरमा थियो । यस सूचीमा भारत आफ्नो छिमेकी मुलुक चीन, पाकिस्तान, नेपाल, भुटान, श्रीलङ्का, बङ्ग्लादेश तथा हिंसाग्रस्त म्यान्मारभन्दा पनि पछि परेको छ ।
यी हुन् अग्रणी १० देश
सूचीमा पहिलो नम्बरमा फिनल्यान्ड छ । त्यसपछि नर्वे, डेनमार्क, आइसल्यान्ड, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, क्यानाडा, न्युजिल्यान्ड, स्विडेन तथा अस्ट्रेलिया छन् ।
अधिकांश छिमेकीभन्दा पछि छ भारत
अचम्मको कुरा त यदि एसियामा हेर्ने हो भने पाकिस्तानका मान्छे सबैभन्दा बढी खुसी छन् । सूचीमा पाकिस्तान ७५औं स्थानमा छ । यसपछि चीन (८६), भुटान (९७), नेपाल (१०१), बङ्ग्लादेश (११५), श्रीलङ्का (११६), म्यान्मार (१३०), भारत (१३३) र अफगानिस्तान (१४५) छन् ।
अमेरिका टप टेनमा छैन
अमेरिका यस सूचीमा तल झरेको छ । गत वर्ष अमेरिका १४औं नम्बरमा थियो, तर यस वर्ष १८औं नम्बरमा परेको छ ।
देश जहाँ प्रवासी खुसी छन् ।
प्रवासीहरु खुसी रहने देशमा पनि फिनल्यान्ड एक नम्बरमा परेको छ । त्यसपछि डेनमार्क, नर्वे, आइसल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, क्यानाडा, स्विडेन, स्विट्जरल्यान्ड र मेक्सिको छन् । फिनल्यान्डमा कुल ५५ लाख जनसङ्ख्या छ, जसमा ३ लाख प्रवासी छन् ।
सबैभन्दा पिछडिएका ५ देश
सूचीमा गत ७ वर्षदेखि युद्ध झेलिरहेको सिरिया १५०औं नम्बरमा छ । त्यसपछि रुवान्डा (१५१), यमन (१५२), तान्जानिया (१५३), दक्षिणी सुडान (१५४), मध्य अफ्रिकी गणराज्य (१५५) र सबैभन्दा पुछारमा बुरुन्डी (१५६) छ ।