तामाकोसी आयोजनासँगै जिल्लाभर ३५ आयोजना अघि बढाइँदै छ । यीमध्ये पाँचओटा निर्माण सम्पन्न भएका छन् । नौओटा आयोजना निर्माणाधीन छन् भने बाँकी अध्ययनका चरणमा तथा अध्ययन पूरा गरेर निर्माण सुरु गर्ने तयारीमा छन् । २०७४ को अन्त्यसम्म माथिल्लो तामाकोसीको काम अन्तिम चरणमा पुग्नेछ ।
पेम्बाछिरि शेर्पाले सायदै कल्पना गरेका थिए – आफ्नै घरमुनिबाट मोटर बाटो चल्छ । पक्की घर बनाउँछु । र व्यवसायसमेत सञ्चालन गर्छु । गौरीशङ्कर गाउँपालिका–१ लामाबगरका शेर्पा कल्पनासमेत नगरेको विकास आफ्नो गाउँमा भएको देख्दा निकै दङ्ग छन् ।
केही वर्ष अघिसम्म सुनसान रहेको लामाबगरमा अहिले चहलपहल बढेको छ । खच्चड, घोडा र भरिया लगाएर सामान ढुवानी गर्नुपर्ने लामाबगरबासीको समस्या अहिले समाधान भएको छ । ठूलाठूला डाँडा छिचोल्दै लामाबगरसम्म सडक पुगेपछि पेम्बाजस्तै धेरै स्थानीय अहिले आफ्नो गाउँको परिवर्तन देखेर निकै खुसी भएका छन् । गाउँको उत्पादनले वर्षभर खानसमेत नपुगेपछि राजधानी छिरेका धेरै लामाबगरबासी अहिले गाउँ फर्किएका छन् ।
स्वदेशी लगानीमा निर्मित सबैभन्दा ठूलो आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माणसँगै जिल्लाको उत्तरी क्षेत्रको विकासले फड्को मारेको हो । तामाकोसी आयोजनाले सिँगटीबाट लामाबगरसम्म सडक विस्तार गरेपछि सो क्षेत्रका बासिन्दालाई सहज भएको स्थानीयको भनाइ छ । यहाँका धेरै स्थानीय अहिले आफ्नै गाउँमा पक्की घर बनाएर व्यवसाय सञ्चालन गरिरहेका छन् ।
आयोजना प्रभावितहरुलाई मुआब्जा वितरण गरिएको छ । सोही मुआब्जाबाट त्यहाँका धेरै स्थानीयले व्यापार व्यवसाय सुरु गरेका छन् भने अधिकांशले सहरमा घडेरीसमेत जोडेको स्थानीय पासाङ शेर्पाले जानकारी दिए । तामाकोसी आयोजनाले मुआब्जाअन्तर्गत प्रतिआना २० हजार रुपैयाँ दिएको थियो । यस्तै सडकले घरसमेत क्षति पुगेको स्थानमा घरको मूल्याङ्कन गरी क्षतिपूर्ति दिएको थियो । पीडितहरुले ५० हजारदेखि ५ लाख र घरसमेत क्षति भएकाहरुले १७ लाख रुपैयाँसम्म क्षतिपूर्ति पाएका थिए ।
तामाकोसी आयोजनाले स्थानीयका लागि १० प्रतिशत सेयर दिने बताइएसँगै घरजग्गा कारोबारसमेत फस्टायो । २०६४÷०६५ देखि चरिकोटमा घडेरीको मूल्य ह्वात्तै बढेको छ । सदरमुकाम चरिकोटमा मात्र होइन, जिल्लाको विकट क्षेत्र लामाबगरमा समेत जग्गाको कारोबार बढ्यो । आयोजनाले दोलखामा जग्गा हुनेहरुलाई सेयर दिने हल्लाले राजधानीलगायत विभिन्न जिल्लाका मानिसहरुले महँगो शुल्कमा घडेरीसमेत जोडेका छन् । दोस्रो जनआन्दोलनको समाप्तिसँगै आयोजना निर्माण सुरु भएपछि दोलखामा विकास निर्माणले तीव्रता पायो । सडकमार्गको कल्पनासमेत नगरेका लामाबगरवासीको घर आँगनमै गाडी पुग्यो । लामाबगरसम्म सडक खुलेपछि उत्तरी क्षेत्रमा धेरै हाइड्रोपावरहरु निर्माण हुन थालेका छन् । दोलखाको गौरीशङ्कर गाउँपालिका–१ लामाबगरमा निर्माण भइरहेको तामाकोसी जलविद्युत् आयोजनालाई सुनको अन्डाको संज्ञा दिइएको छ । दोलखालीको भाग्य र भविष्यका रुपमा आयोजनालाई लिने गरिएको छ ।
जलविद्युत् आयोजना निर्माणसँगै गाउँमा प्रत्यक्ष रुपमा धेरै फाइदा पुगेको मार्बुका स्थानीय मिङ्गुर शेर्पाको भनाइ छ । तामाकोसी आयोजनाले निर्माण गरेको सडककै कारण आफ्नो गाउँमा मात्र दुईओटा जलविद्युत् आयोजना निर्माण भइरहेको र स्थानीयले गाउँमै प्रत्यक्ष रुपमा लाभ लिइरहेको शेर्पाको भनाइ छ । अबको १० वर्षभित्र दोलखामा सबै स्थानीय लखपति हुनेसमेत शेर्पाको दाबी छ । तामाकोसी आयोजनाको निर्माण सुरु भएसँगै उत्तरी क्षेत्रको विकासमा समेत कायापलट भएको सिँगटीका कुमार खड्काले बताए ।
उत्तरी क्षेत्रमा होटल व्यवसाय चम्कियो
तामाकोसी आयोजनासँगै उत्तरी क्षेत्रको सडक छेउमा खुलेका होटलको व्यवसाय पनि फस्टाएको छ । तामाकोसी आयोजना निर्माणपछि आफ्नो व्यवसाय पनि चम्किएको सिँगटीमा होटल व्यवसाय सञ्चालन गर्दै आएका होटल चिनारीका सञ्चालक राजकुमार श्रेष्ठको भनाइ छ । आयोजनामा कार्यरत कर्मचारी, आयोजना अवलोकनका लागि आउने पर्यटक र अन्य आयोजनाका कर्मचारीको आवगमनमा वृद्धि भएसँगै सिँगटी, लामाबगर, गोगर, सिसागोलाई, कटुवाचौरलगाएत स्थानमा रहेका तीन दर्जनभन्दा बढी सानाठूला होटल सञ्चालनमा रहेको उनले बताए ।
सजिलो भयो यात्रा
तामाकोसी आयोजना निर्माणसँगै उत्तरी क्षेत्रको सडक स्तरोन्नतिसमेत भएको छ । खाल्डाखुल्डी अवस्थामा रहेको सडक तामाकोसी आयोजनाले सामान ढुवानीका लागि सडक विस्तार गरेसँगै यात्रुबाहक बस सञ्चालन गर्नसमेत सहज भएको रोल्वालिङ यातायात सहकारी लिमिटेडका अध्यक्ष बालकृष्ण आर्चायको भनाइ छ । सडकको स्तरमा सुधार भएपछि लामाबगरसम्मै दैनिक बस सञ्चालन गरिरहेको उनले बताए । यात्रुवाहक बस मात्र नभई उत्तरी क्षेत्रमा सामान ढुवानीका लागि समेत सहज भएको सिँगटीका व्यवसायी महेश श्रेष्ठले बताए ।
आकर्षित छन् लगानीकर्ता
तामाकोसी आयोजना निर्माणसँगै लगानीकर्ता पनि दोलखामा आकर्षित हुँदै गएको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुदर्शन कार्कीको भनाइ छ । पहाडी क्षेत्रका रुपमा रहेको दोलखामा ठूला उद्योगधन्दा चल्न नसकिरहेको बेला तामाकोसी आयोजनाकै कारण साना जलविद्युत् आयोजनामा लगानी गर्नेहरुको सङ्ख्यामा वृद्धि भइरहेको उनले बताए । दोलखाको विकासको मुख्य आधार भनेकै जलविद्युत् र पर्यटन रहेकोले ठूला आयोजनासँगै लगानीको अवसर पनि धेरै भएको कार्कीको भनाइ छ ।
तामाकोसी जलविद्युत् आयोजना निर्माणसँगै लामोसाँघु–जिरी सडकखण्ड स्तरोन्नति भएको, दोलखा–सिँगटी सडकखण्ड कालोपत्रे सुरु भएको र उद्योगहरुसमेत खुल्ने क्रम बढेको दोलखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुन्दर कार्कीको भनाइ छ । तामाकोसी आयोजना मेगा प्रोजेक्टका रुपमा रहेको भन्दै यसबाट दोलखावासीले धेरै फाइदा लिइरहेको उनले बताए । आयोजनाबाट स्थानीयहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा धेरै फाइदा लिइरहेको अध्यक्ष कार्कीको भनाइ छ । तामाकोसी आयोजनासँगै बन्ने अन्य हाइड्रोपावरले वितरण गर्ने सेयर बेचेरै केही वर्षपछि दोलखाली सम्पन्न हुने उनको विश्वास छ । दोलखामा केही महिना अघि मात्र पाइप उद्योग, प्लाई उद्योग सञ्चालनमा आएका छन् । कालिन्चोक केबलकार पनि निर्माणको अन्तिम चरणमा छ ।
यस्तै तामाकोसी आयोजनासँगै जिल्लाभर ३५ आयोजना अघि बढाइँदै छ । यीमध्ये पाँचओटा निर्माण सम्पन्न भएका छन् । नौओटा आयोजना निर्माणाधीन छन् भने बाँकी अध्ययनका चरणमा तथा अध्ययन पूरा गरेर निर्माण सुरु गर्ने तयारीमा छन् । २०७४ को अन्त्यसम्म माथिल्लो तामाकोसीको काम अन्तिम चरणमा पुग्नेछ । त्यसैगरी २०७४ अन्त्यसम्ममा दोलखामै निर्माणाधीन ४० मेगावाटको उपल्लो खानिखोला पूरा हुनेछ । ३० मेगावाटको खानिखोला पनि अन्तिम चरणमा पुग्नेछ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनासँगै दोलखामा अरु दर्जन आयोजना पनि निर्माणाधीन अवस्थामा छन् ।
निर्माणाधीन २५ मेगावाटको सिँगटीखोला, ११ मेगावाटको तल्लो खारेखोला, ५ मेगावाटको घट्टेखोलाको काम मध्यतिर पुगेको छ । नर्वेजियन कम्पनी स्टाटक्राफ्टले ४ वर्षअघि नै विस्तृत अध्ययन पूरा गरेको ६ सय ५० मेगावाटको तामाकोसी तेस्रोको काम पनि सुरु हुने देखिएको छ । तामाकोसीमा चिनियाँ एक कम्पनीले स्थलगत निरीक्षण सुरु गरेको छ । त्यसैगरी जाइकाले पनि स्थलगत निरीक्षण गरेको छ । त्यसैगरी ४८ मेगावाटको खिम्ती २ को काम सुरु भएको छ । खिम्तीखोलामा हिमालयन ऊर्जा कम्पनीले १२ मेगावाट र ७ मेगावाटका दुईओटा आयोजनाको काम तीव्र रूपमा गरिरहेको छ । खिम्ती खोलामै ५ सय मेगावाटको ठोसे खिम्तीको अध्ययन भएको छ । अपर तामाकोसीकै टेलरेसबाट निस्केको पानी प्रयोग गरेर निकाल्ने ८७ मेगावाटको तामाकोसी पाँचौंको अध्ययन पनि पूरा भएको छ । यसलाई पनि सरकारी स्तरमा अघि बढाउन लागिएको छ । त्यसैगरी चिनियाँ सिमाना नजिक ५२ मेगावाटको माथिल्लो लाप्चे खोलाको पीपीए भएर स्थलगत रूपमा क्याम्प राखेर काम सुरु गरिएको छ । दोलखामा ६० मेगावाटको खिम्ती १, १० मेगावाटको सिप्रिङ, ३.५२ मेगावाटको चर्नावती, २.४ मेगावाटको जिरीसिक्री र १ मेगावाटको कुथलीबुखरी आयोजना विद्युत् उत्पादन गरिरहेका आयोजना हुन् । जिरी खोलामा ५ सय किलोवाटको आयोजना पनि पूरा हुन लागेको छ ।
आयोजनाको कुल लागत ३५ अर्ब २९ करोड छ । २०७५ असारमा पहिलो युनिट विद्युत् उत्पादन गर्ने तयारी गरिए पनि लट नम्बर २ को काम ढिलाइ भएका कारण आगामी मङ्सिरभित्र मात्र उत्पादन सुरु हुने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।
चैतबाट स्थानीयलाई सेयर
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले दोलखावासीका लागि चैतबाट १० प्रतिशत सेयर निष्कासन गर्दै छ । आयोजनाको कुल पुँजीको १० प्रतिशत अर्थात् १ करोड ९० हजार कित्ता सेयर निष्कासन गर्न लागेको आयोजनाका प्रवक्ता न्यौपानेले जानकारी दिए । यसको बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइन क्यापिटलले गर्ने आयोजनाले बताएको छ । सार्वजनिक निजी साझेदारीमा बनेको नमुना आयोजनाका रुपमा माथिल्लो तामाकोसी हो । त्यसमा आयोजनाका विद्युत् प्राधिकरण, देशभरका कर्मचारी सञ्चयकर्ताहरु, नेपाल टेलिकम, नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थान, दोलखाली जनता, आम सर्वसाधारणको सेयर लगानी छ । जसमा आयोजना प्रभावित दोलखावासीले मात्र १ अर्ब ५ करोड ९० लाख रुपैयाँबराबरको सेयर लिन पाउनेछन् । यसअघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई गरी १७.२८ प्रतिशत अर्थात् १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँबराबरको १ करोड ८२ लाख ९५ हजार कित्ता सेयर निष्कासन गरी ०७२ जेठ २९ गते बाँटफाँट भइसकेको छ ।
बढ्ने भयो लगानी
२०६७ भदौबाट निर्माण सुरु भएको तामाकोसी आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर भूकम्प र नाकाबन्दीको कारण देखाउँदै आयोजनाको लट–२ को ठेकेदार भारतीय कम्पनी टेक्सम्याको रेलवे इन्जिनियरिङले लक्ष्यअनुसार काम नगर्दा ०७५ असारभित्रमा पहिलो युनिट विद्युत् उत्पादन गर्न नसकेको आयोजनाका प्रवक्ता डा. न्यौपानेको भनाइ छ । ०७५ पुसभित्रमा पहिलो युनिट उत्पादन गर्ने तयारीका साथ काम अघि बढाइरहेको समेत उनले बताए । आयोजना निर्माण कार्य करिब ९४ प्रतिशत सम्पन्न भएको उनले जानकारी दिएका छन् । टेक्सम्याकोको जिम्मामा रहेको ठेक्काको काम भने ४० प्रतिशत पनि सकिएको छैन । टेक्सम्याकोले हाइड्रो मेकानिकलअन्तर्गत बाँधस्थलको गेट हबसम्बन्धी काम मात्र लक्ष्यअनुसार गरेको बताइएको छ । पेनस्टक पाइपको ढुवानीको काम भने अहिलेसम्म २५ प्रतिशत मात्र भएको आयोजनाको भनाइ छ । टेक्सम्याकोले ढुवानी गरी जडान गर्नुपर्ने ५ मिटर लम्बाइ र ३ दशमलव ६ गोलाइ भएको करिब १ सय ६० ओटा पेनस्टक पाइपमध्ये आयोजनास्थलमा करिब ४० ओटा मात्र ढुवानी भएको छ । आयोजनाको ३ सय ७३ मिटरको ठाडो सुरुङ, १ सय मिटरको तेर्सो सुरुङ र ३ सय १० मिटरको अर्को ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्नुपर्ने हुन्छ ।
निर्धारित समयमा आयोजनाको काम सम्पन्न नभएपछि आयोजनाको लागतसमेत बढ्ने भएको छ । ३५ अर्ब २९ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण अवधि बढेपछि आयोजनाको कुल लागत ४६ अर्ब पुग्ने भएको न्यौपानेले बताए ।
तीन सयभन्दा बढी नेपालीलाई रोजगारी
तामाकोसी आयोजना निर्माण भएसँगै तीन सयभन्दा बढी नेपालीहरुले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् । आयोजनाको सिभिल संरचना निर्माणदेखि विभिन्न काममा नेपाली सहभागी भएका छन् । तामाकोसीले आयोजना प्रभावित क्षेत्र लामाबगरका स्थानीयलाई रोजगारीका लागि विशेष प्राथमिकताका साथमा राखेको छ । आयोजनामा मजदुरी गर्नेहरुले मासिक २५ हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी लिने गरेको बताइएको छ । आयोजना निर्माणले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता हटेको स्थानीय रामशरण केशीको भनाइ छ । श्रम गर्न विदेश जानुभन्दा हाइड्रोपावरमा काम गर्न निकै सहज भएको केसीले बताए ।
जन्मथलो छोड्नै मान्दैनन् च्छोतच्छोतबासी
‘पुर्खाहरु यहीँ जन्मिए, यहीँ हुर्के र यहीँ मरेर गए । हामीलाई पनि यही ठाउँमा मर्ने रहर छ । छाड्नै मन छैन,’ लामाबगर च्छोतच्छोतका टेकबहादुर तामाङले भने, ‘६७ वर्षकी आमा हुनुहुन्छ । उहाँ पनि यो ठाउँ छोड्न मान्नुहुन्न । मलाई पनि छोराछोरीले अन्य ठाउँमा जाऊँ भन्छन् । तर मलाई फिटिक्कै कहीँ जान मन छैन ।’
यो ठाउँ छाडेर गए पनि यहाँको जस्तो समाज सबै ठाउँमा नपाइने उनको भनाइ छ । ‘तामाकोसी आयोजनाले सबैलाई खुसी बनाएको छ । तर हाम्रो भने खुसी लुटेर लग्यो,’ उनले भने । आयोजना नबन्दासम्म सबै मिलेर बसेका आफूहरुलाई अहिले तितरबितर बनाएको उनको भनाइ छ । गतवर्ष मात्र आफ्ना सातजना आफन्तलाई पहिरोले बगाएको उनले बताए । ‘आयोजना नबनेको भए उनीहरुलाई हामीले अकालमै गुमाउनुपर्दैनथ्यो कि ?,’ उनले भने ।