चालक र सहचालकको लागि ड्रेसकोड

महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको केही दिन अघिको निर्णयअनुसार आजदेखि चालक तथा सहचालकले पोसाक लगाउन सुरु गरेका हुन् ।

रत्नपार्कदेखि ललितपुरका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनका चालक तथा सहचालकले आजदेखि पोसाक लगाउन थालेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको केही दिन अघिको निर्णयअनुसार आजदेखि चालक तथा सहचालकले पोसाक लगाउन सुरु गरेका हुन् ।

रत्नपार्कदेखि लगनखेल चल्ने बा २ ख २७३ नं को माइक्रोबसका चालक गोपाल थापा पोसाकको सुरुआतसँगै चालक र सहचालकको पहिचान झल्कने बताउँछन् । ‘पोसाक लगाएसँगै अरु कपडा फोहर नहुने तथा चालक र सहचालकलाई यात्रुले चिन्न सहज हुनेछ’ उनको भनाइ छ– ‘चालकका लागि रातो रङको कपडाको ज्याकेट र सहचालकका लागि हल्का पहेँलो रङको ज्याकेटको व्यवस्था गरिएको छ । सोही मार्गमा चल्ने बा २ ख ३६२४ नम्बर माइक्रोबसका चालक हरि महर्जन भन्छन्, ‘नेपाली भन्दा पनि विदेशी पाहुनालाई चालक र सहचालक छुट्याउन पोसाकले सहज हुन्छ ।’

यी केवल प्रतिनिधि पात्र मात्र हुन् । आज रत्नपार्कदेखि ललितपुरसम्म चल्ने झण्डै सय माइक्रोबसका चालक तथा सहचालकलाई पोसाक वितरण गरिएको हो । ललितपुर मिनीबस व्यवसायी सङ्घका अध्यक्ष निरत्न नेवा पोसाकको प्रयोगसँगै चालक र सहचालकको व्यवहारमा परिवर्तन आउने बताउँछन् । पोसाक लगाएपछि चालक र सहचालकलाई थप जिम्मेवारी थपिएको छ’, उनी भन्छन् ।

हाल रत्नापार्क भएर ललितपुरका विभिन्न स्थानमा झण्डै दुई सय माइक्रोबस आवतजावत गर्छन् । यो अभियानले यात्रुले चालक तथा सहचालकलाई सजिलै चिन्न सकिने अध्यक्ष नेवाको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ प्रदेश नं ३ का संयोजक धर्म रिमाल उपत्यकाभित्रका सबै सार्वजनिक सवारी चालकलाई अनिवार्य रुपमा पोसाक लगाउने निर्णय आजदेखि कार्यान्वयनमा ल्याइएको बताए । ‘अब रत्नापार्कदेखि उपत्यकाका विभिन्न स्थानमा चल्ने सार्वजनिक बसका चालक तथा सहचालकले पोसाक लगाउनुपर्ने हुन्छ,’ उनी भन्छन् । सुरुमा काठमाडौँ उपत्यका र त्यसपछि देशभर चल्ने सवारी चालकलाई पोसाकको व्यवस्था गरिने गरी महासङ्घले काम गरिरहेको छ ।

ट्राफिक महाशाखाका प्रमुख सर्वेन्द्र खनाल रत्नापार्कदेखि ललितपुरसम्मको १४ नं रुटबाट सुरु भएको उक्त अभियान उपत्यकाका सबै रुटमा लैजाने बताउँछन् । ‘आज सुरुआत हो, अब उपत्यकाका सबै रुटमा यो अभियान सञ्चालन हुन्छ’, उनको भनाइ छ । पोसाकको व्यवस्थासँगै सडक सभ्यता र अनुशासित रुपमा गाडी चलाउने अभियानको विकास हुने प्रमुख खनालले उल्लेख गरे । आजदेखि सुरु भएको उक्त अभियान आ–आफ्नो समितिबाट कार्यान्वयनमा ल्याउने गरी काम भइरहेको छ ।

यसअघि ट्राफिक व्यवस्थापन सहजताका लागि चालक, सहचालकलाई बाटोमा बसेर शिक्षा दिँदै आएको महाशाखाले यो कामसँगै ट्राफिक व्यवस्थापनमा थप सहजता हुने विश्वास समेत लिएको छ । अच्युत रेग्मी तस्वीर : नवीन पौडेल  रासस