१६ हजार युवालाई सीपमूलक तालिम दिइने

गरिबी, सुविधाविहीन, अति सीमान्तकृत तथा सीमान्तकृत जनजाति दलित र अपाङ्गता भएकालाई पहिलो चरणमा उपत्यकाका चार हजार र उपत्यका बाहिरका १२ हजार युवालाई सीपमूलक तालिम दिइने व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट)का परियोजना प्रमुख टेकनारायण पाण्डेले बताए ।

सरकारले आर्थिक विपन्न युवालाई स्वरोजगार गराउने उद्देश्यले १६ हजारलाई सीपमूलक तालिम दिने भएको छ । गरिबी, सुविधाविहीन, अति सीमान्तकृत तथा सीमान्तकृत जनजाति दलित र अपाङ्गता भएकालाई पहिलो चरणमा उपत्यकाका चार हजार र उपत्यका बाहिरका १२ हजार युवालाई सीपमूलक तालिम दिइने व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट)का परियोजना प्रमुख टेकनारायण पाण्डेले बताए ।

उक्त तालिम प्रवेशिका अनुत्तीर्ण गरेका १६ देखि ४० वर्ष उमेर समूहलाई दिन लागिएको हो । युवालाई बिल्डिङ इलेक्ट्रिसियन, इण्डिस्ट्रियल इलेक्ट्रिसियन, मोटरसाइकल सर्भिस, मेकानिकल, जुनियर कम्प्युुटर हार्डवेर टेक्निसियन, मोबाइल मर्मत, भारतीय कुक, ब्युटिसियन जस्ता तालिम दिइने छ । इभेन्ट परियोजना प्रमुख पाण्डेले तालिम लिन छनोट भएका काठमाडाँै, ललितपुर र भक्तपुरका चार हजार युवालाई सोमबार भौचर वितरण गरिने बताए ।

भौचर लिइसकेपछि छनोटमा परेकाले तालिम प्रदायक संस्थाकहाँ गएर तालिम लिनसक्ने छन् । उपत्यका बाहिरका ४६ ओटा जिल्लाका युवालाई भने तीन महिने उक्त तालिम दिन सुरु गरिसकिएको छ । उनीहरुलाई रोजगारीमा लाग्न र स्वरोजगार बनाउनका लागि छोटो अवधिको तालिम दिइएको पाण्डेले बताए ।

ती युवाले लिएको तालिमको सीप परीक्षण केन्द्रबाट सीप परीक्षण गर्ने परियोजना उपनिर्देशक दिनेश खनालले बताए । ‘‘तालिम दिइसकेपछि उक्त संस्थाले नै तालिम लिएका युवालाई रोजगारी दिनेछन्’ उनले भने ।

इभेन्टले विश्व बैङ्कसँगको सहकार्यमा पाँच वर्षभित्र मुलुकका एक लाख १५ हजार युवालाई तालिम दिनेछ । सन् २०११ बाट इभेन्टले बेरोजगार युवालाई रोजगार बनाउन छोटो अवधिका तालिम सञ्चालन गर्दैआएको छ । इभेन्टले अहिलेसम्म ८७ हजार पाँच सय युवालाई छोटो अवधिका सीपमूलक तालिम दिइसकेको छ । रासस