वन मुलुक समृद्धिको आधार हो : मन्त्री बस्नेत

वन मन्त्रालयमा वातावरण मन्त्रालय पनि पूरक भएर जोडिएकाले आगामी दिनमा दुवै विषयका कामलाई प्रभावकारी कार्यान्वयनमा लैजान कार्ययोजना बनाई अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

 

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन क्षेत्रलाई उचित सदुपयोग गरेर मुलुक समृद्धिको प्रमुख आधार बनाउन सकिने बताएका छन् ।

सञ्चारकर्मीसँग सोमबार पुल्चोकस्थित आफ्नो सरकारी निवासमा छलफल गर्दै उनले मुलुकको आर्थिक समृद्धिका लागि वन क्षेत्रमा व्यापक र अपार सम्भावना रहेको धारणा व्यक्त गरे ।

‘वन क्षेत्रमा अपार सम्भावनाका साथै संरक्षण र उपयोगलाई सँगै कसरी लैजाने भन्ने चुनौती पनि छ, यसमा सुशासन अनिवार्य शर्त हुनुपर्छ,’ उनले भने । वन क्षेत्रमा थोरै लगानीमा उचित व्यवस्थापन गर्न सके जनताका आवश्यकता पूर्ति, रोजगारी सिर्जना, राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने उनको विश्वास थियो ।

‘वन क्षेत्रको उचित सदुपयोग र व्यवस्थापन गरेर मुलुकमा विदेशी काठको आयात विस्थापनका साथै काठको निर्यातसमेत गर्न सकिन्छ,’ उनले भने । मन्त्री बस्नेतले मुलुक संघीय संरचनामा गइसकेको सन्दर्भमा संघ, प्रदेश र स्थानीय तीनै तहमा वन क्षेत्रको व्यवस्थापनका लागि नीतिगत र संरचनागत पुनःसंरचनाको अवश्यकता औंल्याए ।

वन मन्त्रालयमा वातावरण मन्त्रालय पनि पूरक भएर जोडिएकाले आगामी दिनमा दुवै विषयका कामलाई प्रभावकारी कार्यान्वयनमा लैजान कार्ययोजना बनाई अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री नियुक्त भएलगत्तै वन तथा वातावरण क्षेत्रका सबै सरकारी निकाय र सरोकारवाला विज्ञसँगको चरणबद्ध छलफलमा जुटेका मन्त्री बस्नेतले यस क्षेत्रको जानकारीपछि कार्यान्वयनमा अघि बढ्ने अवगत गराए ।